एकाएक चर्चामा आएको हायू समुदाय

एकाएक चर्चामा आएको हायू समुदाय

सिन्धुलीको गोलाञ्जर गाउँपालिका–६ का एकै हायू परिवारका १६ जना अचानक बेपत्ता भएको खबरले हिजो सामाजिक सञ्जाल निकै गर्माएको थियो । यद्यपि, राति अबेर उनीहरू पोखरा पुगेको पुष्टि भएपछि त्यसको रहस्यसहित उक्त समुदायबारे नयाँ जानकारीहरु बाहिर आएका छन् ।

उक्त घटनापछि ‘हायू’ समुदायबारे उत्पन्न व्यापक चासोबारे गरिएको सोधखोजबाट फेला पारिएको तथ्य यस्तो छ :

२०७८ सालको जनगणना अनुसार हायू नेपालका लोपोन्मुख आदिवासी जनजातिमध्ये एक हो । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार देशभर हायू समुदायका जम्मा तीन हजार ६९ जना मात्रै छन् । रामेछापलाई यस समुदायको ऐतिहासिक उद्गमस्थल मानिए पनि पछिल्लो समय सिन्धुलीमा उनीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ ।

विस्तार हुँदै बसोबास

हायू समाजका अध्यक्ष लक्ष्मण हायूका अनुसार हाल सिन्धुलीको गोलाञ्जर गाउँपालिकामा ४८५, कमलामाई नगरपालिकामा एक हजार ८२ र सुनकोशी गाउँपालिकामा ५८५ जना हायू समुदायका सदस्य बसोबास गर्छन् ।

ऐतिहासिक विभेद र हालको अवस्था

अध्यक्ष हायूका अनुसार पहिलेको मुलुकी ऐनमा उक्त समुदायलाई ‘दास’को रूपमा वर्गीकृत गरिएको थियो । त्यसबेला उनीहरूलाई नेपाली सेनामा समेत भर्ती हुन निषेध गरिएको उनको दाबी छ । यद्यपि पछिल्लो संविधान र नीतिगत सुधारपछि कुनै कानुनी प्रतिबन्ध नरहेको उनले जानकारी दिए ।

संरक्षणका प्रयास

२०७५ सालदेखि नेपाल सरकारले हायूलाई लोपोन्मुख जातिको रूपमा औपचारिक मान्यता दिँदै विशेष संरक्षण तथा पहिचान कार्यक्रम लागू गरिसकेको छ । यद्यपि भाषा, संस्कृति र सामाजिक अस्तित्व जोगाउन अझ सशक्त पहल आवश्यक रहेको सरोकारवालाहरूको निश्कर्ष छ ।

टिप्पणीहरू