९० वर्षीय मोहनविक्रम अब जनतामा जाने

९० वर्षीय मोहनविक्रम अब जनतामा जाने

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह खुल्ला राजनीतिमा आउने भएका छन् । ९० वर्षीय उनी अब अर्धभूमिगत नरहने भएका हुन् । 

साउन ९ र १० गते बसेको केन्द्रीय समितिको बैठकले पार्टी भूमिगत नै रहने, तर महामन्त्री र प्रवक्तालाई खुला गर्ने निर्णय गरेको छ । जारी विज्ञप्तिअनुसार पार्टीको विचारलाई जनतामा लैजानु आवश्यक देखिएकोले यस्तो नीति ल्याइएको हो । 

‘देशमा बढिरहेको प्रतिगमनको खतरा, राष्ट्रियता र सार्वभौमिकतामा बढ्दै गएको खतरासमेतका कारणले जनताका बिचमा गएर नै सार्वजनिक रूपले आफ्ना विचार लैजानुपर्ने आवश्यकतासमेत माथि ध्यान दिएर अब अर्धभूमिगत अवस्थाको ठाउँमा पार्टीको महामन्त्री सार्वजनिक नै हुनुपर्ने आवश्यकता देखेर पार्टीको केन्द्रीय समितिले त्यही प्रकारको निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको संगठनात्मक प्रणाली पहिले जस्तो नै भूमिगत रहनेछ र पार्टीका प्रवक्ताहरूलाई खुला राख्ने पार्टीको पहिलेको नीति कायम रहनेछ ।’

पञ्चायतकालमा वारेन्ट जारी हुँदा सिंह भूमिगत हुनुपरेको र गणतन्त्र स्थापनापछि अर्थभूमिगत रहदै आएको पनि पत्रमा उल्लेख छ । 

प्युठान घर भएका सिंह ०१४ सालमा सम्पन्न नेकपाको दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसयता विभिन्न टुटफुटको सामाना गर्दै आएका उनी आक्कलझुक्कल सार्वजनिक सभा समारोहमा देखिने गरेका छन् ।

टिप्पणीहरू