एमालेमा पार्टी कार्यालयको हिसाब खोजियो

एमालेमा पार्टी कार्यालयको हिसाब खोजियो

नेकपा एमाले जिल्ला कमिटी रौतहटका अध्यक्ष सचिदानन्द साहमाथि आफ्नै पार्टी कार्यालय निर्माणमा अनियमितता गरेको आरोप लागेको छ । रौतहटको मध्यभागमा रहेको गरुडास्थित तुलसीलाल स्मृति भवन पुनर्निर्माणका लागि मधेस प्रदेश सरकारले दिएको ४३ लाख रकमबाट साहले १० लाख पनि खर्च नगरी अन्य रकम हिनामिना  गरेको स्वयं नेकपा एमाले जिल्ला कमिटी सदस्यहरुले बताउँदै हिँड्न थालेका छन् । सोही भवन रंगरोगन तथा गेट निर्माणका लागि भन्दै गरुडा नगरपालिकाले समेत २० लाख रकम खर्च गरिसकेको छ ।

४३ लाखको रकमबाट जिल्ला अध्यक्ष साहले भुइँमा ब्लक बिछ्याउने र यसभन्दा पहिले नगरपालिकाले सेतो पेन्ट गरेकोमा अर्को पेन्ट गरेर रकम हिनामिना गरेको भन्दै चिया चर्चा हुन थालेको छ । 

पार्टी कार्यालय निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशले ४३ लाख रकम विनियोजन गरेको थियो । सोही रकममा नेकपा एमाले जिल्ला पार्टीका अध्यक्ष स्वयंले र्याल काडेको भन्दै एमाले जनमा चर्चा परिचर्चा सुरु भएको छ । रकम नै खर्च नगरी बिल बनाएर पार्टी अध्यक्ष साहले रकम निकासा गरेको भन्दै नेकपा एमालेको केन्द्रीय कार्यालयमा उजुरी समेत परेको एकजना जिल्ला कमिटी सदस्यले नाम उल्लेख नगर्ने शर्तमा जनआस्थालाई बताए । पार्टी अध्यक्ष साहले उपभोक्ता समिति नै गोप्य रूपमा बनाई वडाबाट सिफारिस समेत नलिई काम गरेको बताइएको छ । 

साहले पूर्वाधार कार्यालयमा काम सम्पन्न भएको बिल भौचर बुझाएका थिए । असार २५ गते सो उपभोक्ता समितिको खातामा रकम गएको थियो । रकम खातामा जानासाथ एमालेका केही नेताले फोन गर्न थालेपछि पूर्वाधार कार्यालय गौरका प्रमुख दीपककुमार मिश्राले बैंकमा पत्र लेखेर अर्को पत्र नगएसम्म सो रकम निकासा नगर्न पत्र पठाएको हुँदा सो रकम हालसम्म निकासा हुन सकेको छैन ।  अध्यक्ष साहले भने आफूले मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादव सहितका सबैलाई मिलाइसकेका कारण रकम निकासा गरिदिन भन्दै पूर्वाधार कार्यालय गौरका प्रमुख मिश्रको कार्यालयमा धर्ना दिन थालेका छन् । 

उनलाई तत्काल कारबाही गर्नुपर्ने भन्दै एक हुल एमाले जिल्ला नेताहरुले नेकपा एमालेको मुख्यालय च्यासलमा गएर उजुरी समेत दर्ता गराएका छन् ।

टिप्पणीहरू