निर्वाचन पर्यवेक्षणलाई निवेदन आवश्यक
निर्वाचन आयोगले मनाङ प्रदेश सभा–२ मा हुन लागेको उपचुनावमा पर्यवेक्षण गर्न चाहनेसँग निवेदन मागेको छ । आयोगले आज सूचना जारी गर्दै उपचुनावको पर्यवेक्षणका लागि इच्छुक राष्ट्रिय संघसंस्थालाई निवेदन दिन आह्वान गरेको छ ।
आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची–२, बमोजिमको ढाँचामा १५ दिनभित्र पर्यवेक्षण अनुमतिका लागि निवेदन पेश गर्न सूचित गरेको छ । त्यसका निम्ति सम्बन्धित संघसंस्था दर्ता प्रमाणपत्र प्रतिलिपि, विधान प्रतिलिपि, नवीकरण निस्साको प्रतिलिपि, कार्यसमितिका पदाधिकारीको नामावली, राष्ट्रिय–अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाणलगायत कागजात बुझाउनुपर्ने छ ।
साथै, पर्यवेक्षण अनुमतिका लागि निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा आयोग र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने छ । २०७९ मसिरमा भएको निर्वाचनमा राजीव गुरुङ उर्फ दीपक मनाङे मनाङ प्रदेश सभा–२ बाट निर्वाचित भएकोमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनी उम्मेदवार बन्न अयोग्य ठहर गरेपछि त्यहाँ आउँदो कात्तिक १७ गते उपचुनाव गर्न लागिएको छ ।
टिप्पणीहरू