चाडपर्वको पूर्वार्द्धमा महिला उद्यमीहरुको मेला

चाडपर्वको पूर्वार्द्धमा महिला उद्यमीहरुको मेला

दशैं, तिहार नजिकिँदै छ । यी चाडबाडको मौकामा विभिन्न मेला–महोत्सवका नाममा व्यापारिक गतिविधिहरु निकै हुने गरेका छन्। चितवनमा यही भदौ १९ देखि २३ गतेसम्म महिला उद्यमी मेला हुने भएको छ ।

चितवन उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा संघकै परिसरमा ‘चितवन महिला उद्यमी मेला–२०८२’ सञ्चालन गरिने जानकारी दिइएको छ। उद्योग तथा वाणिज्य कार्यालय चितवन, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडा र भरतपुर महानगरपालिका कार्यालयको प्रवद्र्धन र सहयोगमा मेला हुन लागेको आयोजकले बताएको छ ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठले भने, ‘उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा योगदान पु¥याउँदै यस क्षेत्रको आर्थिक उन्नतिमा समेत सहयोग पुर्‍याउनका लागि महिलाहरुलाई आय आर्जनका क्रियाकलापहरुमा संलग्न गराउनुपर्ने एक अनिवार्य सर्त हो ।’ स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने विभिन्न उपाय तथा माध्यममध्ये मेला–महोत्सव एक दरिलो माध्यम भएको पनि उनले बताए। ‘महिला उद्यमशिलताको विकास मार्फत् महिला सशक्तिकरण’ भन्ने मूल नाराका साथ चितवनमा महिला उद्यमी मेलाको तेस्रो संस्करण अहिले हुन लागेको बताइएको छ। यसले चाडबाडको नियमित बजारलाई कुनै असर नपर्ने अध्यक्ष श्रेष्ठ बताउँछन्।

चितवन उद्योग वाणिज्य संघले मेला–महोत्सव मार्फत् स्थानीय उत्पादन र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमै पहिलोपटक महोत्सवको आयोजना गरी हालसम्म १५ औं संस्करण ‘चितवन महोत्सव’ सम्पन्न भइसकेको छ। यसैगरी कृषि मेला, सूचना प्रविधि मेला, घर बनाउने मेला लगायतका कार्यक्रमहरु समेत आयोजना एवम् प्रवद्र्धन गरिरहेको संघले स्पेसिफिक मेलाको आयोजना गर्ने रणनीति लिई संघको परिसरमा प्रदर्शनी केन्द्रको विकास गरेको छ र आगामी दिनमा पनि कुनै एक विशिष्ट विषयका कार्यक्रमहरु आयोजना गर्दै जाने संघले बताएको छ।

‘महिला सशक्तिकरण हुनको लागि पहिला आर्थिक रूपमा सबल हुनुपर्छ, आर्थिक रूपमा सबल हुनलाई आय उत्पादन हुनुपर्छ। आय उत्पादन हुनलाई या त सीप हुनुप¥यो, या त उद्यमशीलता’, संघका कार्यकारी निर्देशक नील केसी भन्छन्। ‘महिला उद्यमीलाई प्रशिक्षण गर्ने हेतुले विगत लामो समयदेखि उहाँहरुको आवश्यकताका आधारमा तालिम दिने, नेपालका विभिन्न स्थानमा हुने मेला–महोत्सवहरुमा सहभागी गराउने, साथै संघको आफ्नै परिसरमा ‘कोसेली घर’ भन्ने स्थापना गरेर उहाँहरुले गरेका उत्पादनहरुलाई बजारीकरण गर्ने, बिक्री–वितरणमा सहयोग गर्ने काम हामीले विगत लामो समयदेखि गर्दै आइरहेका छौं।’

महिला उद्यमी मेलाले घरेलु तथा लघु महिला उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवाहरुको प्रचार–प्रसार हुनेछ भने अर्कोतर्फ प्रदर्शनीमा ल्याइएका उत्पादनहरुको बिक्री–वितरणले गर्दा उद्यमी महिलाहरुलाई अझ बढी प्रोत्साहित गर्ने र नवप्रवेशी महिलाहरुको लागि यो कार्यक्रम कोशे ढुंगाको रुपमा स्थापित हुने आयोजकको विश्वास रहेको छ। कार्यक्रममा विभिन्न स्थानबाट सहभागिता जनाउने प्रदर्शक महिला उद्यमी बीचको समन्वय, सम्पर्क एवम् अनुभव आदान–प्रदानले पनि आ–आफ्नो व्यवसाय प्रवद्र्धन गर्नमा योगदान पुग्ने, महिलाका आर्थिक सबलीकरण, सामाजिक सशक्तिकरण र व्यवसायिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको संघले बताएको छ। कार्यक्रमको बीचमा उद्यमशीलता सम्बन्धी गोष्ठी, साथै राष्ट्रिय योग्यता प्रणाली कार्यक्रमको सहकार्यमा प्यानल डिस्कसनको समेत आयोजना गरिएको जनाइएको छ।

विगतमा तीन दिन मात्र आयोजना गरिएको महिला उद्यमी मेला यसपटक पाँच दिन चल्ने भएको छ, संघ चितवन, महिला उद्यमी विकास समिति संयोजक अस्मिता तिमिल्सनाले बताइन्। हरेक दिन बिहान १० देखि ५ बजेसम्म चल्ने मेलामा प्रवेश निःशुल्क गरिएको आयोजकले बताएको छ।

चितवन, मकवानपुर, नवलपुर, तनहुँ, पोखरा लगायत बागमती प्रदेशका उद्यमी महिला, उद्यमशीलतर्फ उन्मुख महिला, महिला उद्यमशीलता तथा उत्पादनहरुमा चासो राख्ने व्यक्तिलाई लक्षित गरी आयोजित महिला उद्यमी मेला २०८२ मा जम्मा ३० वटा स्टल रहने र प्रायः सबै स्टलहरु आरक्षण भइसकेको बताइन्छ। एकल महिला, दुर्गमका महिला लगायतलाई निःशुल्क स्टल रहेको पनि जानकारी दिइएको छ। आरक्षित स्टलमध्ये हालसम्म हस्तकला, लघु–घरेलु उद्यम, कृषिसँग सम्बन्धित प्रदर्शकहरु रहेको आयोजकले बताएको छ।

टिप्पणीहरू