बोर्डिङका शिक्षकहरू धमाधम राजधानीमा
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असहमति जनाउँदै सरकारलाई आज (भदौ १८) सम्मको अल्टिमेटम दिएका निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन थप चर्काउने भएका छन्। उनीहरूले आगामी भदौ २५ गते काठमाडौंमा वृहत् प्रदर्शन गर्ने तयारी गरेका छन्। प्रदर्शनमा देशभरका निजी विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक र कर्मचारीको सहभागिता हुने बताइएको छ।
प्याब्सन, एनप्याब्सन, हिसान, एपेन र एनएमएलगायतका संस्थाहरूले त्यसअघि देशभरका जिल्लाका सदरमुकाममा खबरदारी सभा गर्ने, आन्दोलनको प्रशिक्षण कार्यक्रम गर्ने, विभिन्न राजनीतिक दलका प्रमुखहरूलाई भेटेर ज्ञापनपत्र बुझाउने र सरोकारवालासँग भेटेर अन्तरक्रिया गर्ने योजना बनाएका छन्।
प्रस्तावित विधेयकबाट निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउनुपर्ने र पूर्ण छात्रवृत्तिसम्बन्धी प्रावधान हटाउनुपर्ने उनीहरूको मुख्य माग छ। पाँच बुँदे मागसहित आन्दोलनमा उत्रिएका उनीहरूले अस्ति राजधानीमा स्कुल बसको र्याली समेत निकालेका थिए।
टिप्पणीहरू