चिनीका बोरा गायब,जिम्मेवारी चैट
सशस्त्र प्रहरी ११ नम्बर गण, रौतहटका गणपति सन्तोष बस्नेतसहित केही अधिकृतलाई हेडक्वार्टर तानेर चिनी तस्करी प्रकरणमा अनुसन्धान थालिएको छ । गत साउन २९ गते डिएसपी अमर लामा र राजेन्द्र बस्नेतसहितको टोलीले गरुडास्थित शिवनगरको एउटा गोदाममा छापा मारेको थियो । भिडियोमा झण्डै पाँच सय बोरा देखिएतापनि उनीहरूले १०७ बोरा मात्रै बुझाए । तस्करहरूसँग केही रकम लिएर अन्य बोरा अर्को गाडीमा हाली पठाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ‘डिएसपीमाथि एसपीले एक्सन लिनुपर्ने हो ।
तर, एसपी नै मिलेपछि कुरा माथिसम्म पुगेको हो’, स्रोतले भन्यो । स्रोतका अनुसार त्यसमा सिडियोदेखि राष्ट्रिय अनुसन्धानका कर्मचारी र नेपाल प्रहरीको पनि मिलेमतो छ । अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार त्यहाँ भएको मल र चिनीको परिमाण नै खुलेको छैन । घटना एकदमै शंकास्पद भएको उनको जिकिर छ । जिम्मेवारी सम्हाल्ने क्रममा मधेश प्रदेशमा धेरै बसेका ‘काजी’ को उपनामले परिचित बस्नेत चिनी तस्करी प्रकरणमा मुछिएपछि रौतहटमा एसपी फेरिएको छ । उनको ठाउँमा रामहरि अधिकारीलाई पठाइएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । उनले भने, ‘उहाँहरूलाई हेडक्वार्टर तानेर सोधपुछ गरिरहेका छौं । त्यहाँचाँहि एसपी रामहरि अधिकारीलाई पठाइएको छ ।’
सुरक्षाका लागि दिनदिनै बैठक
रौतहटमा पोकेदेखि संगठित तस्करहरूको बिगबिगी छ । विभिन्न नाकाको प्रयोग गरेर तस्करहरूले सामान ल्याउँछन् । तस्करी नियन्त्रणका लागि सादा पोशाकमा सशस्त्र प्रहरी खटाउने गरिएको छ । जिल्लाको सुरक्षाका निम्ति दिनहुँ सिडियोकहाँ प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानको बैठक बस्ने गर्दछ । तैपनि तस्करी रोकिएको छैन ।
टिप्पणीहरू