प्रहरीको आग्रह : खोक्ने खकार्ने नगर्नू, ट्वाइलेट जाँदा ध्यान दिनू
नेपाल प्रहरीले काठमाडौँवासीलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न उर्दी जारी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त तथा अवरोधमुक्त छिमेकी अभियानअन्तर्गत ध्वनी प्रदुषण हुनेगरी आवाज ननिकाल्न भनेको हो ।
विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण मानव स्वास्थ्यका लागि हानिकारक हुने भन्दै कार्यालयले गर्भवती महिला, बाबालिका, मुटुरोगी र वृद्धवृद्धालाई असर पर्नेतर्फ सचेत गराएको छ । त्यसैले ध्वनी प्रदुष्ण नियन्त्रणका लागि ५ बुँदामा विभिन्न सुझाव दिइएको छ ।
जसअनुसार राति शौचालय गर्दा सानो आवाज निकाल्न आग्रह गरिएको छ । राती अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिठ्ठी नलगाउन पनि अनुरोध गरेको छ ।
बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने काम नगर्न कार्यालयले भनेको छ । भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पन्न नगर्न सतर्क गराएको छ ।
राती कसैको घरमा जाँदा गेट ढकढक्याउनु वा बेल बजाउनुभन्दा फोन गरेर खोल्न लगाउन पनि प्रहरीको सुझाव छ । ध्वनी प्रदुषण कम गर्नको लागि भनिएको छ, ‘फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, सकेसम्म म्यासेजमै संवाद गरौँ ।’
धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्दा पनि ध्वनी नियन्त्रण गर्न प्रहरीले अनुरोध गरेको छ । त्यस्तै घरमा संगीत अभ्यास गर्दा पनि ध्वनी नियन्त्रणकाे उपकरण प्रयोग गर्न भनिएको छ ।

टिप्पणीहरू