दशैँको बेला फौजी प्रमुखले जिल्ला छोड्न नपाइने

दशैँको बेला फौजी प्रमुखले जिल्ला छोड्न नपाइने

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैंलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीले झण्डै दुई दर्जन निर्णय गरेको छ । प्रहरी मुख्यालयले २१ बुँदे निर्णय गर्दै कार्यान्वयनका निम्ति मातहतका कार्यालयलाई पत्राचार गरेको हो । जसमा बैंक तथा वित्तीय संस्थामाथि निगरानी राख्नेदेखि निरन्तर गस्ती गर्नेसम्म छ । 

आर्थिक सहयोगकस नाममा जबरजस्ती चन्दा संकलन,चिठ्ठा उपहारजस्ता गतिविधि हुन नदिने, सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाहरुबाट रकम झिक्ने, सरसामान किनमेल गर्ने स्थानहरुमा हुन सक्ने चोरी,लुटपाट,ठगी र डकैतीजस्ता घटनाहरुलाई नियन्त्रण गर्न निगरानी बढाउने, वित्तीय संस्थामा कार्यरत सुरक्षा गार्डहरुलाई सुरक्षा विधि र अपनाउनुपर्ने सावधानीबारेमा अनुशिक्षण दिने,काठमाडौं उपत्यकामा विशेष सुरक्षा टोली बनाएर मुख्य मुख्य स्थानमा निगरानी राख्ने मुख्यालयको निर्णय छ । 

त्यसैगरी, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धिजस्ता कार्यहरु हुन नदिन सम्बन्धित पक्षसँग छलफल गरी अनिवार्य रुपमा मूल्यसूची राख्न लगाउन निर्देशन दिइएको छ । इन्धनको अभाव देखाएर लामो तथा छोटो दूरीको सवारी साधनले बढी भाडा असुल्ने अवस्थालाई दृष्टिगत गरी राजमार्गहरुमा ट्राफिक प्रहरीसहित चेकजाँचको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने,बढी भाडा असुल्नेलाई कानुनबमोजिम कारबाही गर्ने भनिएको छ । 

अवैध मदिरा उत्पादन तथा बिक्री वितरण, जुवातासलगायतका गतिविधिहरुलाई पूर्ण रुपमा निस्तेज पार्ने उल्लेख गर्दै मुख्यालयले भनेको छ,‘चाडपर्वहरुलाई लक्षित गरी पट्का, आतशबाजीलगायतका कुनैपनि विस्फोटक पदार्थहरुको आयात, ओसारपसार तथा प्रयोग हुन नदिन सीमावर्ती नाका, उपत्यका भित्रिने नाका, जिल्लास्थित अन्तर नाकाहरुमा समेत कडाइका साथ चेकजाँच गर्ने र कानुनविपरीतका कार्य गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कारबाही गर्ने ।’

चाडपर्वमा सीमा क्षेत्रमा अत्याधिक तस्करी, लुटपाट, ठगी र डकैतीजस्ता घटनाहरु बढ्ने बताउँदै मुख्यालयले सुरक्षा सतर्कता बढाउन सूचित गराएको छ । त्यस्तै, सुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछाड्न र सबै सरकारी कार्यालयहरुमा भरपर्दो पालो पहराको व्यवस्था मिलाउन कडा आदेश दिइएको छ । 

जिल्लास्थित सरकारी कार्यालय, धार्मिकस्थल, महत्वपूर्ण प्रतिष्ठान, उद्योग तथा कारागारहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन, निजी प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोगलाई निरुत्साहित पार्न, यात्रुहरुले सहज रुपमा टिकट पाउने व्यवस्थाका लागि पहल गर्न, प्रहरी हिरासतमा रहेका कैदीबन्दी, थुनुवाहरुले आत्महत्या गर्ने तथा भाग्न सक्ने सम्भावनालाई मध्यनजर गरी आवश्यक सुरक्षा व्यवस्थापन मिलाउन, सादा पोशाकमा प्रहरी परिचालन गरी निगरानी तथा पैदल वा मोबाइल क्युआरटी गस्ती बढाउनलगायतका निर्देशन दिइएको छ ।

टिप्पणीहरू