पोखरामा लुटियो चार दर्जन हतियार, भेटियाे एक दर्जन

पोखरामा लुटियो चार दर्जन हतियार, भेटियाे एक दर्जन

गत मंगलबारको हिंसात्मक प्रदर्शनको क्रममा पोखरामा प्रदर्शनकारीहरुले नेपाल प्रहरीका ४८ थान हतियार लुटेका छन् । प्रहरीको विवरणमा एसएलआर, थ्री नट थ्री, सटगन, पेस्तोल, इन्साससम्मका हतियार लुटिएको छ । तीमध्ये हिजोसम्म जम्मा १२ थान भेटिएको छ ।

प्रहरी कार्यालय र चौकीमा आगो लगाउँदै प्रहरीको साथमा रहेका हतियार लुटिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोसिएकामध्ये १७ थान थ्री नट थ्री हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट ७ थान, वडा प्रहरी कार्यालय बगरबाट ८ थान, वन कार्यालयबाट एक र नयाँ पुल प्रहरी चौकीबाट एक थान लुटिएको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट ४ थान एसएलआर र वडा प्रहरी कार्यालय बगरबाट २ थान एसएलआर प्रदर्शनकारीले लगेका छन् । सोही वडा प्रहरी कार्यालयबाट ५ थान हर्ने, २ वटा सटगन, ७ थान पेस्तोल र एक थान ग्यास गन बेपत्ता बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट ५ थान पेस्तोल, १ थान इन्सास, ४ थान रिभल्भर पनि प्रदर्शनकारीले लुटेको बताइन्छ । प्रहरीले हिजोसम्म सशस्त्र प्रहरी बलको एक थान इन्सास, पेस्तोल ४ थान, रिभल्भर ४ थान, थ्री नट थ्री राइफल २ थान र हर्नेट १ थान फेला परेको जनाएको छ ।

टिप्पणीहरू