भयो त अब ? एक महिना नबित्दै ?

भयो त अब ? एक महिना नबित्दै ?

जेन-जी विध्वंसपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न रहर गर्नेहरूको अर्को सूची बाहिर आएको छ । 

जेन-जीको नाममा अनेक समूहमा छरिएका युवाहरूले मन्त्री पदमा दावी गरिरहँदा आज 'सडकको आगो' नामक समितिले आठ जनाको नाम अघि सरेको हो । आज बिहान ११ बजे नक्सालमा बसेको उक्त समूहको बैठकले जेन-जी अगुवा भनिएका मिराज ढुंगाना, रक्षा बम, पुरुषोत्तम यादवसहित आठ जनालाई मन्त्री र राज्यमन्त्रीमा सिफारिस गरेको छ । 

निर्णयको माइन्युटमा ढुंगानालाई गृह र जस्मिन ओझालाई सहरी विकास मन्त्रीमा सिफारिस गरेको उल्लेख छ । जबकि जेन-जीकै सुधन गुरुङ समूहको समर्थनमा ओमप्रकाश अर्याल र कुलमान घिसिङ क्रमश: उक्त मन्त्रालयको जिम्मेवारीमा छन् ।

दिवाकर दंगालका लागि महिला तथा बालबालिका मन्त्रालय मागिएको छ । रक्षा बम, पुरुषोत्तम यादव, जस्मिन ओझा, प्रवेश दाहाल र सिपी श्रेष्ठको नाम राज्यमन्त्रीमा राखिएको छ । 

यता, गृहमन्त्रीमा सिफारिसमा परेको भनिएका ढुंगानाले यसबारे आफूसँग सल्लाह नभएको  सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका छन् । उनले उक्त पदमा दाबी भए-नभएको चैं खुलाएका छैनन् । 

प्रधानमन्त्री कार्कीको क्याविनेटमा अहिले आठ जना मन्त्री छन् । जेन-जीको नाममा अनेक समूहले थरी-थरीका मान्छेको नाम लिएर आएपछि अप्ठेरोमा परेकी उनले सरकारलाई पूर्णता दिन सकेकी छैनन् । जसका कारण सरकार गठन भएको एक महिनासम्म रक्षा र परराष्ट्रसहित केही महत्वपूर्ण मन्त्रालय अझै नेतृत्वविहीन छ ।

टिप्पणीहरू