‘तस्कर क्वीन’ हस्मिता, पक्राउपछि रिहा सामान्य प्रक्रिया
धनगढी उपमहानगरपालिका–८ की हस्मिता चौधरी पछिल्लो समय सुदूरपश्चिम क्षेत्रमा ‘तस्कर क्वीन’को नामले चिनिन थालेकी छन्। बारम्बार सशस्त्र प्रहरी बलको निगरानीमा परेकी चौधरीलाई तीन पटक तस्करीका सामानसहित समातिएको छ । तर हरेकपटक धरौटीमा रिहा हुँदै फेरि पुरानै धन्दामा फर्किएको सुरक्षास्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार चौधरीले त्रिवेणी घाटहुँदै दैनिक २० लाख हाराहारीका कपडा, कस्मेटिक, मोबाइल पाट्र्स र इलेक्ट्रोनिक सामान भारतबाट नेपाल भित्र्याउँथिन् । पछिल्लो एक सातामै सशस्त्रले असोज २२ गते २ लाख ४८ हजार, असोज २४ गते ९ लाख ६ हजार, र असोज २८ गते २ लाख १३ हजार मूल्यका सामान बरामद गरेको थियो।
तर, पहिलो दुई पटक उनी फरार भइन्। तेस्रो पटक मात्र नियन्त्रणमा लिन प्रहरी सफल भयो। अनुसन्धानका लागि बुझाइएपछि केही दिनमै उनले धरौटीमा छुट पाइन्। रिहा भएपछि उनले उल्टै सशस्त्र प्रहरीमाथि ‘थोरै सामान ल्याउँदा पनि बढी मूल्याङ्कन गरी फसाएको’ दाबी गर्दै सामाजिक सञ्जालमा आफैंलाई निर्दोष सावित गर्न खोजेकी छन्।
तर, भन्सारका अधिकारीहरू भने मूल्याङ्कन कानुनी प्रक्रिया अनुसार गरिएको बताउँछन्। ‘दुई जना संलग्न हुँदा मूल्य स्वाभाविक रूपमा दोब्बर देखिन्छ,’ एक अधिकारीले भने।
स्थानीयले भने हस्मिताले केही मिडिया र फेसबुक–टिकटकमार्फत् आफूलाई पीडितका रूपमा प्रस्तुत गर्दै प्रहरीको मनोबल घटाउने प्रयास गर्दै आएको आरोप लगाएका छन्। सशस्त्र प्रहरी स्रोतले पनि यस्तो गतिविधिले तस्करी नियन्त्रण अभियान कमजोर पार्ने विश्लेषण गरेको छ ।
रतसँगको खुला सीमाका कारण धनगढी क्षेत्रमा तस्करी नियन्त्रण निकै चुनौतीपूर्ण बन्दै गएको छ। पछिल्ला महिनामा मात्रै सशस्त्र प्रहरीले करोडौं रुपैयाँका सामान बरामद गरी भन्सार बुझाए पनि कानुनी कारबाही हलुका र धरौटीमार्फत छिट्टै छुट्ने अवस्थाले तस्करहरूको हौसला अझ बढाएको स्थानीय व्यवसायीहरूको गुनासो छ।
टिप्पणीहरू