२५ करोडका मालिकविरुद्ध सम्पत्ति शुद्धीकरण
काठमाडौंको टोखाबाट बरामद २५ करोड रुपैयाँभन्दा बढीका मालिक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले पौडेल र रकम बोकेको ट्रकका चालक कुसाङ लामालाई प्रतिवादी बनाइएको छ ।
उनीहरुविरुद्ध दायर मुद्दामा २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो मागदाबी गरिएको छ। प्रहरीले गत वर्ष चैत ४ गते चीनको केरुङतर्फ जाँदै गरेको ना. ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएको अवस्थामा टोखा नजिकैको झोरबाट उक्त रकम बरामद गरेको थियो।
घटनापछि काठमाडौं जिल्ला अदालतले पौडेललाई ३५ लाख रुपैयाँ धरौटी लिएर तारिखमा रिहा गरेको थियो भने चालक कुसाङ लामा अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागारमै छन् । लामा यसअघि पनि ७ किलो सुनसहित पक्राउ परेपछि पाँच वर्ष जेल सजाय भोगेर २०७८ मा निस्किएका थिए ।
पौडेल र लामाविरुद्ध सम्पत्ति शुद्धीकरण ऐन, २०६४ अन्तर्गत बिगो जफत, जरिवाना तथा कैद सजायको माग गरिएको छ।
टिप्पणीहरू