आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनालाई करिब २ अर्ब रुपैयाँ छुट्याइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई झैँ सेनालाई पनि निर्वाचन सुरक्षा शीर्षकमा बजेट निकासा भएको बताइन्छ ।
रक्षा मन्त्रालयअन्तर्गत सेनालाई चुनाव खर्च शीर्षकमा विनियोजन गरिएको रकम १ अर्ब ९९ करोड रुपैयाँ छ । उक्त रकम विशेषगरी ‘हवाई गस्ती,रासन, यातायात,तालिम,आकस्मिक परिचालन र पूर्वतयारी’ का नाममा खर्च गरिने बुझिएको छ ।
सुरक्षा स्रोतका अनुसार सेनाको खर्चको ठूलो अंश हेलिकोप्टर परिचालन र हवाई गस्तीमा हुनेछ । निर्वाचन अवधिभर सेनाले चारवटा सुरक्षा मुकाम बनाएर हेलिकोप्टरलाई ‘स्ट्यान्डबाइ’ राख्ने योजना बनाएको छ। सेनाले आफ्ना ७८ हजार सैनिकलाई विभिन्न क्षेत्रमा खटाउने तयारी छ ।