सबै श्रेणीहरू

राप्ती प्रतिष्ठानकी पूर्व उपकुलपतिमाथि अर्को मुद्दा

राप्ती प्रतिष्ठानकी पूर्व उपकुलपतिमाथि अर्को मुद्दा

‘एमआरआई मेशिन’ खरिदमा करोडौं कुल्याएको आरोपबाट सफाइ नपाउँदै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति प्रा.डा.संगीता सिंह भण्डारीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । उपकुलपति रहँदा ‘सिटी स्क्यान’ मेशिन किन्दा करोडौं अनियमितता गरेको आरोपमा उनीसहित १९ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा तत्कालिन कामु रजिष्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाद देव, निर्देशक डा.सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा.बोम बिसी, बोयोमेडिकल इन्जिनियरद्धय शरद भण्डारी र आषुतोश भण्डारी, शाखा अधिकृतहरु झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी छन् ।

यस्तै, तत्कालिन लेक्चरर डा.श्रीसिया पोखरेल, आईटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाही, फार्मेशी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स बिन्दु पौडेल, त्रिवि शिक्षण अस्पताल काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, हिमालयन मेडिटेक प्रालिका अमर श्रेष्ठ र सन्जु राजकर्णिकारउपर पनि मुद्दा चलेको छ । 

भण्डारी प्रतिष्ठानको उपकुलपति रहँदा आर्थिक वर्ष २०७६–०७७ मा सिटी स्क्यान मेशिन खरिद गरिएको थियो । त्यसक्रममा उनीहरुको मिलेमतोमा सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ । अख्तियारका अनुसार न्यून गुणस्तर तथा शर्त र मापदण्डविपरीतको मेशिन किनेर भ्रष्टाचार गरिएको पाइएको छ । 

अख्यितारद्धारा दायर अभियोगपत्रमा प्रतिवादीहरुउपर जनही सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना हुन मागदाबी गरिएको छ । यसअघि गत असोज २३ गते पनि भण्डारीसहित १३ जनाउपर एनआरआई मेशिन खरिदमा १२ करोड सात लाख बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलेको थियो ।