गृहमन्त्री हटाउन कस्सिए सुदन गुरुङ
जेनजी अगुवा भनिएका हाम्रो नेपाल एनजिओका संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् ।
जेनजी घटनाका दोषी र भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको आरोप लगाउँदै उनले गृहमन्त्रीले पदमा बस्ने नैतिकता गुमाएको दाबी गरेका हुन् । 'अलोकप्रिय गृहमन्त्रीलाई सन्देश' भन्दै उनले फेसबुकमा लेखेका छन्, 'तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन ।" देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही”गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो ।'
प्रधानमन्त्री सुशीला कार्कीको प्यारो हुँदैमा गृहमन्त्री पद जोगिएला भन्ने भ्रममा नपर्न गुरुङले अर्याललाई चेतावनीसमेत दिएका छन् । ‘प्रधानमन्त्रीको प्रिय पात्र बनेर कुर्सी बच्छ भन्ने सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो', उनले लेखेका छन्, 'तपाईलाई जे कामको लागि गृहमन्त्री बनाइएको हो,त्यो काम गर्नुस् ।’
अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हत्यारालाई
गृहमन्त्री अर्यालले दुई महिनासम्म केही काम गर्न नसकेको भन्दै उनले अब पदमा बसिरहन नमिल्ने बताएका छन् । गृहमन्त्री हुँदा काम गर्न नसके पद छोड्ने वाचा गरेको उनको दाबी छ ।
'सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँशु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्', गुरुङले भनेका छन्, 'ओमप्रकाश अर्यालज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हत्यारालाई ।'
आफूहरुको आन्दोलन ०८४ को चुनाव ०८२ मा गर्नका लागि नभएको भन्दै उनले चुनावको बहानामा उम्किने प्रयास नगर्न गृहमन्त्री अर्याललाई चेतावनी दिएका छन् ।

टिप्पणीहरू