मन्दिरको भेटीमा पनि अनियमितता

मन्दिरको भेटीमा पनि अनियमितता

पर्वतमा भक्तजनले मन्दिरमा चढाएको भेटीमा समेत अनियमितता हुने गरेको खुलेको छ । हिन्दू धर्मावलम्बीले निकै नै आस्था राख्ने र टाढाटाढाबाट दर्शन गर्न आउने शताब्दियौं पुरानो भूमेकोट मन्दिरमा चढाएको भेटीमा हिनामिना हुने गरेको रहस्योद्घाटन भएको हो । कुश्मा नगरपालिका–१३ मा रहेको सो मन्दिरमा राजाहरुले पहिले आफ्ना हतियार राख्ने गर्दथें । 

कुश्मासहित फलेवास नगरपालिकाका स्थानीय जुनसुकै पर्व हुँदापनि सो मन्दिरमा दर्शन गर्न आउँछन् । मन्दिरको आम्दानीको स्रोत दुईटा छ–पहिलो भेटी, दोस्रो दाताबाट आएको सहयोग । मन्दिरको व्यवस्थापन र रकमको सदुपयोगका लागि ‘ज्ञादी भूमेकोट मन्दिर व्यवस्थापन समिति’ स्थापना गरिएको छ । सो समितिको वर्तमान अध्यक्ष खड्गबहादुर खत्री र सचिव दिवाकर पौडेल हुन् । 

मन्दिरमा हरेक वर्षको दशैंमा ठूलो मेला लाग्ने गर्दछ । त्यतिबेला पनि धेरै रकम उठ्छ । समितिले सो रकम स्थानीयलाई २४ प्रतिशत ब्याजमा लगाउँदै आएको छ । जुन अत्याधिक महँगो ब्याज हो । साँवाब्याज नै चुक्ता गरेपछि पनि समितिले फछ्र्यौट नगर्ने स्थानीयको आरोप छ । समितिका पदाधिकारीले खातामा नघटाएर आफ्नो खल्तीमा हाल्ने गरेको उनीहरुको भनाइ छ । 

हालसालै मात्र त्यस्तै विषयलाई लिएर मन्दिरमा रडाको मच्चिएको हो । तिरेको पैसा फछ्र्यौट नगरिकन समितिका पदाधिकारीले आफ्नो खल्तीमा हालेपछि स्थानीयसहितको भेला नै राख्नुपरेको थियो । साविकको खौलालाकुरी गाविसको उपाध्यक्ष स्वर्गीय दत्तबहादुर लामिछानेले केही वर्षअघि समितिबाट ब्याजमा पैसा लिएका थिए । २७ हजार लिएकोमा उनकी श्रीमतीले गत वर्षको दशैंमा २२ हजार रुपैयाँ समितिलाई बुझाइन् । 

तर, समितिका अध्यक्ष खत्री र सचिव पौडेलले ऋण नघटाईकन त्यो पैसा आफ्नो खल्तीमा हाले । यो वर्षको दशैंमा फेरिपनि समितिबाट पैसा तिर्न चिठी आएपछि लामिछानेकी श्रीमती झसंग भइन् । त्यसपछि उनी समिति पुगिन् । एकछिन वादविवाद पनि भयो । उनले पैसा तिरेको रसिद देखाएपछि समितिका पदाधिकारीले पैसा हिनामिना गर्ने गरेको प्रमाणित भएको हो । 

उनीहरुले माफी पनि मागेको स्रोत बताउँछ । अध्यक्ष खत्री र सचिव पौडेलले सो रकम तिर्ने भनेपनि अहिलेसम्म पनि नतिरेको स्रोतको भनाइ छ । स्रोत भन्छ,‘उहाँले त रसिद राख्नुभएको रहेछ, देखाउनुभयो । नत्र त उनीहरुले झुक्काएर खाने रहेछन् । रसिद फालिसकेकाले त तिर्नैपर्ने बाध्यता हुन्छ ।’ त्यहीँका एक स्थानीयले केही वर्षअघि समितिबाट एक लाख रुपैयाँ लगेका थिए । 

उनीहरुले मनलाग्दी ब्याज जोडेर पाँच लाख रुपैयाँ बनाएपछि ठूलै विवाद भएको थियो । ‘यस्तो भएको अहिले मात्र होइन, पहिलेपनि भएको थियो । एक लाखको पाँच लाख बनाएपछि ठूलै विवाद भयो’,स्रोतले भन्यो । स्थानीय हर्कबहादुर कार्कीले माफी मागेर नहुने बताए । रकम हिनामिना गर्नेलाई कारबाही नै गर्नुपर्नेमा उनको जोड छ । 

‘त्यस्तो गर्न मिल्छ ? पैसा तिरिसकेपछि घटाउनुपर्छ कि पर्दैन ? गल्ती भयो भन्दै पछि उनीहरुले सबैको अगाडि माफी मागे । उनीहरुलाई कारबाही हुनैपर्छ’,उनले भने । 

बैंकमा नराख्ने, आफूखुशी ब्याजमा लगाउने

सचिव पौडेलका अनुसार हाल समितिसँग करिब आठ लाख रुपैयाँ छ । अक्षयकोषमा पाँच लाख र मन्दिरमा आवश्यक पर्दा प्रयोग गर्नेगरी तीन लाख रुपैयाँ रहेको छ । लाखौं रुपैयाँ हुँदापनि समितिले बैंकमा खाता खोलेर राखेको छैन । बैंकमा नराख्नुको कारण मँहगो ब्याजमा लगाएर खानु भएको स्थानीय बताउँछन् । 

एक स्थानीय भन्छन्,‘मन्दिरमा उठेको पैसा बैंकमा राख्नुपर्ने हो । तर, उनीहरुले त्यो पैसा बैंकमा राखेका छैनन् । स्थानीयलाई मनलाग्दी ब्याजमा लगाइरहेका छन् ।’ समितिले कसैलाई साढे एक रुपैयाँ त कसैलाई दुई रुपैयाँमा ब्याजमा लगाउँदै आएको उनको भनाइ छ । 

सचिव पौडेलले रकम बैंकमा राख्नेबारे छलफल भइरहेको जानकारी दिए । आउँदो चैते दशैंपछि समिति पुनःर्गठन गरिने उनले बताए । जनआस्थासँग उनले भने,‘अहिले होइन, पहिल्यैदेखि पैसा ब्याजमा लगाउँदै आइएको हो । स्थानीयलाई आवश्यकता पर्छ, दिनैपर्यो । अबचाँहि हामी बैंकमा पैसा राख्ने तयारीमा छौं ।’

समितिको पारदर्शितामाथि प्रश्न 

स्थानीयले व्यवस्थापन समितिको पारदर्शितामाथि प्रश्न उठाउन थालेका छन् । हिसाबकिताबलाई पारदर्शी बनाउनुपर्ने, सार्वजनिक गर्नुपर्ने, समितिलाई सुधार गर्नुपर्ने माग स्थानीयको छ । तर, समितिले सुनुवाई गरेको छैन । स्थानीय धर्म केसी समितिमा सुधारको अत्याधिक आवश्यकता रहेको बताउँछन् । 

समितिले कहिलेपनि हिसाबकिताब सार्वजनिक नगर्ने उनको भनाइ छ । हिसाबकिताब हरेक वर्ष सार्वजनिक गर्नुपर्नेमा उनको जोड छ । उनले भने,‘रकममाथि चाँहि पारदर्शिता हुनुपर्यो भन्ने कुरा हो । त्यहाँ आएको रकम मन्दिरको सुधारका लागि प्रयोग गर्नुपर्छ भनेर स्थानीय युवाहरुले पटकपटक माग राखिसक्नुभएको छ तर सुनुवाई नै हुँदैन ।’

पैसा तिर्न नसक्नेको ऋण श्रमबाट कट्टा गरिनुपर्ने स्थानीय केसीको जिकिर छ । अगाडि थपे,‘त्यो पैसा स्थानीयकै हो । पैसा तिर्न सकेनन् भने श्रमबाट कट्टा गर्न सकिन्छ ।’ त्यसैगरी, अर्का एक स्थानीयले समिति मन्दिरको सुधार भन्दापनि पैसा ब्याजमा लगाउनमै केन्द्रित भएको आरोप लगाए । 

मन्दिर खण्डहरजस्तै बनिसकेको उनको भनाइ छ । ‘मन्दिर बिजोग अवस्थामा छ तर समितिलाई चासो छैन । कसलाई ब्याजमा पैसा दिने भन्नेमै समिति केन्द्रित छ’,उनले असन्तुष्टि पोखे । 

झुक्किएर गल्ती भएको होः सचिव पौडेल 

सचिव पौडेलले झुक्किएर गल्ती भएको दाबी गरेका छन् । सो गल्ती सुधारिसकेको उनको जिकिर छ । भन्छन्,‘त्यो भुलिएर भएको हो । हामीले क्लियर गरिसकेका छौं ।’ साविकको खौलालाकुरी गाविसको वडासचिवसमेत रहेका पौडेलमाथि खानेपानी कार्यालयमा हुँदा अनियमितता गरेको आरोप पनि लागेको थियो । खौलालाकुरीमा ‘एक घर, एक धारा’ जडान आयोजनामा तिलकबहादुर लामिछाने अध्यक्ष र उनी सचिव थिए । 

उनीहरुले सार्वजनिक सुनुवाई नगरिकन गोप्य रुपमा हिसाबकिताब सार्वजनिक गरेका थिए । जसका कारण आयोजनाका उपाध्यक्ष हर्कबहादुर कार्कीसमेत स्थानीयले विरोध जनाएका थिए । उनी चार वर्ष डिभिजन खानेपानी कार्यालय, कुश्मामा पनि बसे । त्यहाँ हुँदापनि पाइपमा घोटाला गरेको आरोप उनीमाथि छ ।

समितिको कोषाध्यक्ष चुनमाया परियारले पनि भुलिएरै गल्ती भएको बताइन् । ‘उहाँले पैसा बुझाउनुभएछ । तर, मलाई चिठी आएन । जसका कारण उहाँले पैसा बुझाउनुभएको मलाई पनि जानकारी भएन । अहिले उहाँले रसिद पेश गर्नुभएपछि मात्र थाहा भएको हो’,उनले भनिन् । 

एकपछि अर्को विवादमा अध्यक्ष 

समितिका अध्यक्ष खत्री विगतमा पनि रकम हिनामिनामा तानिएका थिए । २०७४ सालमा वडा नम्बर १३ मा उनको सालो जंगबहादुर केसी वडाध्यक्ष निर्वाचित भएका थिए । उनले मन्दिरलाई एक लाख रुपैयाँ सहयोग गरे । खत्रीले सो रकम मन्दिरको कोषमा जम्मा नगरिकन आफूखुशी चलाएका थिए । उक्त विषय बाहिर आएपछि स्थानीय युवाले समितिमा तालाबन्दी नै गरेका थिए । 

पछि प्रहरी र सशस्त्र परिचालन गरेर ताला खोलिएको हो । उनले ६ वर्षपछि मात्र सो एक लाख रुपैयाँ फिर्ता गरे, त्योपनि ब्याजबिनै । अरुलाई मँहगो ब्याजमा लगाउँदा उनले निर्ब्याजी रुपमै समितिको पैसा चलाएका हुन् । तर, उनले जंगबहादुरले पैसा दिएको कुरामा कुनै सत्यता नभएको बताए । जंगबहादुरले आफूलाई एक रुपैयाँ पनि नदिएको उनको ठोकुवा छ । 

भन्छन्,‘यो कुरामा कुनै सत्यता छैन । मलाई जंगबहादुरले एक रुपैयाँ पनि दिएका छैनन् । वडाले मन्दिर बनाउन दुई लाख रुपैयाँ दिएको छ । त्यो खातामा छ । अब मन्दिर मर्मतसम्भार गर्ने हो ।’ उनका अनुसार माइन्युटमा नलेख्दा रकम भुलिएको हो । त्यसमा आफ्नो कुनै गलत नियत नभएको उनले जनाए । अध्यक्ष खत्रीले भने,‘यो मन्दिरमा मेरो बुवाआमाको नाममा अक्षयकोष छ । यहाँ मैले बद्मासी गर्छु होला त । उहाँले पैसा बुझाउनुभएछ, हामीले माइन्युटमा लेख्न बिर्सियौं । त्यो हाम्रो गल्ती हो, हामी स्वीकार्छौं ।’

टिप्पणीहरू