खोला खायो डोजरले खर्लप्पै

खोला खायो डोजरले खर्लप्पै

पश्चिम नेपालको हराभरा पहाडी भूभागमा अवस्थित प्रख्यात नदी ताराखोला–दरमखोला (बाग्लुङ्ग) स्थानीय बासिन्दाहरुको जीवन पद्दतिसंग जोडिएको महत्वपूर्ण प्राकृतिक श्रोत हो । तर पछिल्ला वर्षहरूमा अनियन्त्रित उत्खनन,अवैध निर्माण र जलविद्युत आयोजनाका कारण ताराखोलाको पर्यावरणप्रति चिन्ता बढ्दै गएको छ । 

सयपत्री जलविद्युत् आयोजना  निर्माणपश्चात् ताराखोलामा पाँच वटा जलविद्युत् आयोजना थपिने क्रममा छन् । जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने अन्य चार वटा निर्माणको चरणमा छन्। नेपालको कानूनअनुसार कुनै पनि जलविद्युत् आयोजना निर्माण गर्दा खोलामा वर्षभरि कम्तीमा १० प्रतिशत पानी बगाउनुपर्ने व्यवस्था छ । जलविद्युत् विधेयकको परिच्छेद–८, दफा २७ मा जलस्रोत संरक्षण, सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने प्रावधान छ। तर ताराखोलामा काम गरिरहेका  उत्पादक कम्पनीहरुले यी प्रावधानको पालना गरेका छैनन् ।

“व्यवहारिक रुपमा नदीमा अनिवार्य रूपमा छोडिनुपर्ने न्यूनतम प्रवाह (Environmental Flow/E-Flow) नछोड्दा समस्या झनै बढेको छ। नेपालका कानुनअनुसार, सुक्खा मौसमको औसत न्यूनतम बहावको कम्तीमा १० प्रतिशत  नदीमा बग्ने गरी छोड्नैपर्छ ।” स्थानीय युवा डा. गिरिश कँडेल भन्छन् , “यस्ता कानुन नमानिँदा नदी सुक्ने,माछा–जनावरको जीवनचक्र अवरुद्ध हुने, र नागरिकको पानी पिउने अधिकारसमेत प्रभावित हुने अवस्था देखिएको छ ।” वातावरण र पर्यावरणसम्बन्धी जानकार डाक्टर कँडेलले ताराखोला–दरमखोलामा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, प्राकृतिक उत्खनन, र विशेषगरी अनुगमनविहीन जलविद्युत् विस्तारले यस क्षेत्रलाई गम्भीर रूपमा प्रभावित पारेको बताएका छन् । 

ताराखोला दरमखोला संरक्षण अभियानमा लागेका अर्का युवा पूर्ण श्रीसले नदीको अस्तित्व नै मेटिने गरी कुनै पनि उत्खनन् हुन नदिने बताएका  छन् । “डोजर जताबाट आएको हो उतै फर्किनु पर्छ” उनी थप्छन्, “१०-१२ वर्षअघि जहाँ गाई- भैंसीले सहजै पानी पिउँथे,किसानले सिँचाइ गर्थे, र नदी- नालाले गाउँको जीवन चलाइरहेको थियो,आज ती स्रोत माटो, फोहोर र अव्यवस्थित निर्माण गतिविधिले थलिएका छन् । यसले कृषि, जनस्वास्थ्य, पशुपालन र दैनिक जीवनमा पर्ने असर त छँदैछ, जैविक विविधतामा समेत तीव्र गिरावट गराएको छ। जसको कारण नदीनालाको प्राकृतिक चक्र नै कमजोर हुँदै गएको छ।"

टिप्पणीहरू