घुस खाने र खुवाउने दुवैलाई चेतावनी

घुस खाने र खुवाउने दुवैलाई चेतावनी

राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीले घुस लिनेदिने दुवैलाई कारबाहीको चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै त्यस्ता गतिविधिमा संलग्न कर्मचारी र सेवाग्राही दुवैलाई कारबाही गर्ने बताएको हो । 

खासगरी सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता रोक्न र त्यसलाई पारदर्शी, व्यवस्थित बनाउन कार्यालयले कर्मचारीलाई घुस र कमिशन नदिन उद्यमी तथा व्यवसायीलाई आग्रह गरेको छ । 

सार्वजनिक खरिद र राजस्व प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन कर्मचारी आचारसंहिता, २०८० पालना गर्न कार्यालयको आग्रह छ । 

कार्यालयमा सामान खरिद, मर्मत, ठेक्कालगायत कार्यमा कुनै पनि कर्मचारीलाई कमिशन, घुस नदिन र कसैले मागेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खबर गर्न सूचनामा उल्लेख छ । 

त्यस्तै, बजारी मूल्यभन्दा महँगोमा सामान बेच्ने, खरिदमा छुट नदिन र केहीगरी छुट दिइएमा त्यसको कारणसहित आवश्यक कागजात र बिल पेश गरेपछि मात्र भुक्तानीको व्यवस्था मिलाउन भनिएको छ । 

कार्यालयले अबदेखि सार्वजनिक खरिदमा सार्वजनिक सुनुवाई तथा सामाजिक लेखापरीक्षण गर्न निर्देशन दिँदै मूल्य, गुणस्तर र परिणाममा कुनै फेरबदल नगर्नसमेत सचेत गराएको छ ।

टिप्पणीहरू