देशभर बढ्यो लागुऔषधको डोज

देशभर बढ्यो लागुऔषधको डोज

नेपालजस्तो अल्पविकसित मुलुकमा लागुऔषध गम्भीर समस्या बनिरहेको छ । दिनप्रतिदिन लागुऔषध कारोबार र सेवन गर्नेहरू बढ्दै गएका छन् । किशोरकिशोरीदेखि युवायुवतीसम्म कुलतमा फसिरहेको अवस्था छ । लागुऔषध लत सिर्जना गरी दुव्र्यसनी बनाउने पदार्थ हो । एकपटक सेवन गरेपछि छोड्न निकै गाह्रो हुन्छ ।

लागुऔषधमा गाँजा, कोकिन, हेरोइन, मर्फिन, अफिमलगायत पर्छ । यी पदार्थको सेवनले मानिसको शारीरिक, मानसिक स्वास्थ्यमा असर पुर्‍याउँछ । नेपालमा लागुऔषध सेवन र कारोबार अवैध भएपनि लुकीछिपी ओसारपसार र प्रयोग गर्ने क्रम जारी छ । कारागारमा हाल सबैभन्दा बढी लागुऔषधका कैदीबन्दी छन् । प्रहरीले दिनहुँ दर्जनौंलाई लागुऔषधसहित नियन्त्रणमा लिने गरेको छ । नेपालमा लागुऔषध सेवनको इतिहास लामो छ । वि.सं. २०६३ सालको सर्वेक्षणमा ४६ हजार ३०९ जना लागुऔषध प्रयोगकर्ता भेटिएका थिए । वि.सं. २०६९ मा बढेर ९१ हजार ५३४ पुगे ।

२०७६ सालमा सर्वेक्षण गर्दा एक लाख ३० हजार ४२४ नाघिसकेको थियो । प्रयोगकर्तामध्ये पुरुष एक लाख २१ हजार ६९२ र महिला आठ हजार ७३२ रहेका छन् । प्रतिवेदनअनुसार उनीहरूले एकान्तमा बसेर लागुऔषध सेवन गर्छन् । उदाहरणका लागि झाडी, कोरिडोर, पुलमुनि, होटल–रेष्टुरेण्ट, पाटी–पौवालगायतका स्थान ।

लागुऔषध सेवन गर्नेमा बेरोजगार बढी रहेको गृह मन्त्रालयले जनाएको छ । सेवन गर्नेमध्ये ४० प्रतिशतको जागिर र पेशा केही पनि नभएको गृहको जिकिर छ । काम नभएका उनीहरूले टाइमपासका लागि लागुऔषध सेवन गर्छन् । आफू कुलतमा फसेको थाहा नै पाउँदैनन् ।

त्यस्तै, २० वर्षभन्दा कम उमेरमा गाँजाजन्य पदार्थ सेवन गर्ने ८८ प्रतिशत, अफिमजन्य पदार्थ सेवन गर्ने ६३ दशमलव चार प्रतिशत, आनन्ददायक पदार्थ सेवन गर्ने ५२ दशमलव दुई प्रतिशत, सुँघ्ने पदार्थ सेवन गर्ने ९२ दशमलव तीन प्रतिशत, भ्रमात्मक पदार्थ सेवन गर्ने २३ दशमलव आठ प्रतिशत र उत्तेजनात्मक पदार्थ सेवन गर्ने ४५ दशमलव आठ प्रतिशत रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट प्राप्त पञ्चवर्षीय तथ्याङ्कलाई हेर्दा पक्राउ पर्नेको संख्या वर्षेनि एक हजारले बढ्दै गएको छ । आर्थिक वर्ष २०७७–७८ मा चार हजार ६२६ जना समातिएका थिए । त्यस्तै सो वर्ष तीन हजार ३१ वटा मुद्दा दर्ता भएको छ । आ.व. २०७८–७९ मा तीन हजार ८५६ मुद्दा दर्ता भएकोमा पाँच हजार ७८४ जनालाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ । आ.व. २०७९–८० मा चार हजार १०२ वटा मुद्दा दायर गरिएको छ । त्यसैगरी, छ हजार १८७ जना समातिएका छन् ।

आ.व.२०८०–८१ मा दर्ता भएको मुद्दाको संख्या चार हजार ३९९ रहेको छ । सो वर्ष ६ हजार ७१५ जनालाई लागुऔषधसम्बन्धी कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ । आ.व. २०८१–८२ मा पक्राउ पर्नेको संख्यामा झण्डै एक हजार २०० ले थप भएको छ । सो वर्ष सात हजार ८९० जना पक्राउ परेका छन् । त्यस्तै, पाँच हजार ६१ वटा मुद्दा दर्ता भएको छ । लागुऔषधको कसुरमा स्वदेशी मात्र नभएर विदेशी पनि समातिएका छन् । नेपालीसँगै समातिने विदेशीको संख्या पनि वर्षेनि बढ्दै गएको छ । सन् २०२० मा तीन हजार ५३४ जना पक्राउ परेका छन् ।

जसमा नेपाली पुरुष तीन हजार २५५ र महिला १५२ छन् । विदेशी पुरुषको संख्या १२३ र महिलाको चार रहेको छ । सन् २०२१ मा पक्राउ पर्नेको संख्या थपिएर पाँच हजार २८२ पुगेको छ । त्यसमध्ये नेपाली पुरुष चार हजार ८९० रहेका छन् भने महिला २३२ । विदेशी पुरुष १५३ र महिला सात जना समातिएका छन् ।

सन् २०२२ मा पक्राउ पर्नेको संख्या पाँच हजार ८१३ रहेको छ । यो संख्या सन् २०२१ भन्दा ५३१ ले बढी हो । समातिनेमा नेपाली पुरुष पाँच हजार २६२ र महिला ३०१ रहेका छन् । त्यस्तै, विदेशी पुरुषको संख्या २२९ र महिलाको २१ छ । सन् २०२३ मा प्रहरीले छ हजार ५०६ जनालाई नियन्त्रणमा लिएको छ ।

सो वर्ष पक्राउ पर्ने नेपाली पुरुष पाँच हजार ९४२ छन् भने महिला २९८ । विदेशी पुरुष २४३ र २३ महिला पक्राउ परेका छन् । सन् २०२४ मा सात हजार १५८ जना पक्राउ परेको ब्यूरोको तथ्याङ्क छ । जसमा पुरुष ६ हजार ४७५ र महिला ३९२ रहेका छन् । विदेशी पुरुषको संख्या २६६ र महिलाको २५ छ ।

सन् २०२५ को हालसम्म प्रहरीले चार हजार ८८१ जनालाई पक्राउ गरिसकेको छ । जसमा चार हजार ४१३ नेपाली पुरुष र २५९ महिला छन् । त्यसैगरी, १८८ विदेशी पुरुष र २१ महिला छन् ।

– रुसा थापा
 

टिप्पणीहरू