घर फर्कन कांग्रेसको आह्वान

घर फर्कन कांग्रेसको आह्वान

नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उठेका र असहयोग गरेका नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही फुकुवा गर्ने भएको छ । हिजोको केन्द्रीय कार्यसम्पादन समिति बैठकले त्यो निर्णय गरेको जानकारी गराउँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यान्वयनका निम्ति आज मातहतका सबै निकायलाई परिपत्र गरेका हुन् । 

‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीतका काम गरेकाहरुलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरुको बाँकी अवधि माफी–मिनाहा गर्ने निर्णय गरिएको छ,’ परिपत्रमा भनिएको छ । 

माफी मिनाहा दिएपनि उनीहरु पार्टीमा पहिले बहाल रहेको पद फिर्ता नहुने तर क्रियाशील सदस्यता नवीकरणको निर्णय भएको पनि जनाइएको छ । त्यस्तै, पार्टी परित्याग गरेकालाई घर फर्कनसमेत आह्वान गरिएको छ । ‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गए उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ,’ कांग्रेसले भनेको छ ।

टिप्पणीहरू