‘वैवाहिक बलात्कार’मा मुछिए पूर्व प्रधानमन्त्रीका नाति

‘वैवाहिक बलात्कार’मा मुछिए पूर्व प्रधानमन्त्रीका नाति

श्रीमतीको अनुमतिबिना शारीरिक सम्बन्ध राख्नु वैवाहिक बलात्कार हो । कानुनले वैवाहिक बलात्कारलाई जघन्य अपराध मानेको छ । ‘मुलुकी अपराध संहिता–२०७४’ को परिच्छेद–१८ मा ‘करणीसम्बन्धी कसुर’ बारे उल्लेख छ । दफा २१९ को उपदफा ४ ले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा जबरजस्ती शारीरिक सम्बन्ध राखेमा पाँच वर्षसम्म कैद सजायँ हुने व्यवस्था गरेको छ । 

विवाह गरेर श्रीमतीलाई यौन इच्छा पूर्तिको साधन ठान्नेहरूलाई लक्ष्य गरी बनाइएको कानुनको पछिल्लो समय व्यापक दुरूपयोग भइरहेको छ । श्रीमानबाट यौन यातना सहिरहेका महिलालाई वैवाहिक बलात्कारको कानुनले धेरै राहत दिँदा कतिपय महिलाले भने उक्त कानुनलाई बार्गेनिङ गर्ने माध्यम बनाएको समेत पाइएको छ । 

वैवाहिक बन्धनमा बाँधिएको छोटो समयमै बलात्कारको मुद्दा दायर गरेर पैसा कमाउने हतियार बनेको छ, यो कानुन । महिलाको राहतका लागि बनाइएको कानुनबाट धेरै पुरुष पीडित पनि बनेका छन् । सोही सूचीमा एक जना पूर्वप्रधानमन्त्रीको नाति पनि रहेका छन् । विवाह गरेर घर भित्र्याएको केही समयमै श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा जाहेरी दिएपछि उनी समस्यामा परेका छन् । स्वर्गीय प्रधानमन्त्री सूर्यबहादुर थापाका नाति डिकिन थापाविरुद्ध जाहेरी परेको हो । नवविवाहित श्रीमतीले केही दिनअघि प्रहरी वृत्त, महाराजगञ्जमा जाहेरी दिएकी छन् । अमेरिका बस्दै आएका डिकिन हालै नेपाल फर्किएका थिए । दुई सन्तानको बाबु उनी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेर नेपाल आएका थिए । आफ्नै देशमा केही गर्छु भनेर आएका उनी ऋचा नामकी युवतीसँग वैवाहिक बन्धनमा बाँधिए । 

तर, दोस्रो सम्बन्ध पनि लामो समय नटिक्ने देखिएको छ । विवाह गरेको चार–पाँच महिनामै ऋचा वैवाहिक बलात्कारको जाहेरी लिएर प्रहरीकहाँ पुगेकी छन् । स्रोतका अनुसार ऋचा प्रायः बाहिरै बस्थिन् । उनीहरूबीच सम्बन्ध बिग्रिनुको प्रमुख कारण त्यही भएको वकिल स्रोत बताउँछ । स्रोतले भन्यो, ‘दुवैले सल्लाहमा विवाह गरेछन् । तर, केटी प्रायः घरमा नबस्ने । अन्तै हिँड्ने, मनलाग्दी गर्ने भएपछि सम्बन्ध बिग्रिएको हो ।’ एक प्रहरीका अनुसार ऋचाले डिकिनमाथि आफूलाई झुक्याएको आरोप पनि लगाएकी छिन् । पहिलो विवाहबारे जानकारी नदिई आफूसँग वैवाहिक सम्बन्ध बाँधिएको उनको आरोप छ । तर, डिकिनले भने सो आरोप इन्कार गरेका छन् । दुवैको विगत भुलेर विवाह गरेको उनको भनाइ छ । सो मुद्दा ‘कम्प्लिकेटेड’ देखिएको ती अधिकारी बताउँछन् । त्यो वैवाहिक बलात्कार भन्दापनि सम्बन्धविच्छेदको मुद्दा भएको उनको भनाइ छ । 

मन नमिलेपछि वैवाहिक बलात्कारको आरोप लगाएको हुन सक्ने उनको भनाइ छ । उनले भने, ‘यो वैवाहिक बलात्कारभन्दा पनि सम्बन्धविच्छेदको केस हो । मन मिलेन अनि म्यारिटल रेप भनेर आइन् । उनले केही रकम लिन खोजेजस्तो लाग्छ ।’ ऋचा पन्थी थरका आफ्नो वकिलसहित बारम्बार प्रहरी वृत्त धाइरहने गर्छिन् । उनले छिटोभन्दा छिटो कारबाही प्रक्रिया थाल्न आग्रह गरिरहेको स्रोतको जिकिर छ । 

(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)  

टिप्पणीहरू