जेनजीपछि उखु किसानको निशानामा ओली
हजारौं उखु किसानलाई उखुको भुक्तानी नदिई ‘घर न घाट’ को बनाएका पूर्वराज्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य वीरेन्द्रकुमार कनौडिया एमाले प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले दुई दिनअघि उनलाई पार्टीमा भित्र्याएका हुन् ।
उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दैछन् । उम्मेदवारी दर्ता हुनुअगावै उनले सूर्यबाट भोट माग्न थालिसकेका छन् । उनीमाथि कपिलवस्तुको मात्र नभई सर्लाहीका किसानको समेत उखुको पैसा खाएको आरोप छ ।
कपिलवस्तुबाट सर्लाहीको हरिवनमा उखु मिल सारेर त्यहाँका किसानको पैसा नतिरिकन पलायन भएका उनी नेपाली काँग्रेसमा थिए । उनलाई काँग्रेसले पनि उम्मेदवार बनाउने तयारी थियो । तर, पार्टीमा आन्तरिक विवाद भएपछि उनी एमालेतिर लागेका हुन् ।
उनले भुक्तानी नदिएपछि किसानहरुले खाली खुट्टा मधेशबाट राजधानीसम्म यात्रा गरेका थिए । माइतीघर मण्डलामा उनीहरु हप्तौंसम्म खुला आकाशमुनि बसेर आन्दोलन गरिरहे ।
तर, कसैले पीडा सुनेन । उखु किसानको घाउमा मल्हम लगाउन एमालेबाट कोही आएनन् । किसानहरुको पैसा नदिएका तिनै कनौडियालाई एमालेले आफ्नो उम्मेदवार बनाएको हो ।
काँग्रेसमा छँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रभावमा पारेर उनी उखु मिलका लागि वाणिज्य बैंकबाट लिएको ऋण केही हदसम्म मिनाहा गराउन सफल भएका थिए । जुन विवादमा पनि परेको थियो ।
उनलाई एमालेमा भित्र्याउन बहिनीतिरका ज्वाईँ तथा वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीको भूमिका रहेको बुझिएको छ । मधेश आन्दोलनको रापतापसँगै उपेन्द्र यादव र प्रदीप यादवको गुणले मेयरमा निर्वाचित हुन सफल सरावगी एमालेको केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
एमालेमा आएपछि उनीमाथि मधेश आन्दोलनलाई बेवास्ता गरेको आरोप लागेको छ । मारवाडी समुदायका सरावगी र कनौडियाले अब एमालेलाई कुन अवस्थामा पुर्याउने हुन् ? हेर्न बाँकी छ ।
टिप्पणीहरू