मान्छे ढाल्नासाथ पारिबाट फोन

‘युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानेको मैले हो, पहिला गोली हानेर तर्साउँदासमेत सुध्रिएन । उसले मेरा केटाहरूलाई पक्राउ गराएर मलाई समेत नेपालमा बसिखान दिएन, एमालेका मान्छेलाई अब छानी–छानी गोली हान्छु, गोली हानेको एक घण्टामै विभिन्न घटनामा फरार अभियुक्त देवदहकै मनोज बुढा मगरले एमाले रुपन्देही जिल्ला कमिटीका पूर्वसदस्य धु्रव खरेललाई फोनमा भने ।

तिवारीलाई गोली लागेको र देवदह मेडिकल कलेज भलुही लगेको जानकारी पाएपछि त्यहाँ पुगेका खरेलसँगै थिए, इलाका प्रहरी बुटवलका डिएसपी मुकुन्द मरासिनी । मनोजले छानी–छानी गोली हान्ने धम्की दिएपछि खरेलले मरासिनीलाई मोबाइल दिए । डिएसपीले सोधखोज गर्दा उताबाट आवाज आयो—हो मैले नै हो दुर्गालाई गोली हान्न लगाएको । मलाई खोज्ने र पक्रने प्रयास नगर्नुहोला, त्यसबेला जे पनि हुन सक्छ ।

दिनदहाडै व्यस्त बजारनजिकै गोली हानेर फोनमा स्वीकार गर्ने तर संलग्न अभियुक्त पक्राउ नपरेको घटनाले जनजीवन त्रस्त बनेको छ । तिवारीलाई गोली हानेको एक घण्टाभित्र उनै मनोजले खरेलसहित देवदह क्षेत्रका आधा दर्जन व्यक्तिलाई मोबाइलमा फोन गरी आक्रमणको धम्की दिएका थिए । स्थानीय देवदह एफएममा फोन गर्दै हत्याको जिम्मेवारीसमेत लिए । उताबाट आएको आवाज मनोजकै भएको फोनमा कुराकानी गरेका व्यक्तिले बताएका छन् । उताबाट फोन नम्बर नआई अननोन देखाएकाले कहाँबाट फोन ग¥यो पत्ता लगाउन तत्काल कठिन भएको प्रहरीको भनाइ छ ।

पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक दर्ता भएको विरुद्ध एमालेको अगुवाइमा यहाँ आन्दोलन चर्किएको छ । एमाले युवा र खैरेनी क्षेत्रको आन्दोलनको अगुवाइ गरिरहेका तिवारीको हत्यालाई त्यही आन्दोलनसँग जोडेर पनि हेरिएको छ । एमालेले यसलाई गम्भीर राजनीतिक षड्यन्त्रका रूपमा लिएको छ । तर, प्रहरीलाई राजनीतिकभन्दा व्यक्तिगत रिसइवी र अन्य कारणले हत्या भएको भन्दै त्यतैतिर अनुसन्धानकेन्द्रित गरेको छ ।

तिवारीलाई ०७२ फागुन ६ गते तिनै मनोजको समूहले गोली हानेको थियो । देवदह वसन्तपुरमा गोली हानिए पनि मिसफायर भएकाले बच्न सफल भए । त्यसबेलाको घटनामा मनोज बुढा, शालिकराम चापागार्इं र ऋषि घिमिरेको संलग्नता रहेको अनुसन्धानमा खुलेको छ । शालिकराम र ऋषि पक्राउ परी अहिले पुर्पक्षका लागि थुनामा छन् । उनीहरूसँगै मनोजको आपराधिक समूहका राजेन्द्र धमेल, सञ्जोस नेपाली, उग्रेन गुरुङ, बेनीराम सोमै, चित्रबहादुर गुरुङ र रवि केसीलाई पनि काठमाडौं, बुटवल र पोखराबाट पक्राउ गरी प्रहरीले संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ । उनीहरूले हातहतियार देखाएर फिरौती र चन्दा असुली तथा चन्दा नदिनेलाई अपहरण गर्ने र ज्यानमार्ने धम्की दिँदै आएका थिए ।

अघिल्लो दसैंदेखि प्रहरीबाट बच्न भाग्दै आएका मनोजले यी ८ जना सहयोगी पक्राउ परेपछि क्रुद्ध हुँदै तिवारीलाई निशाना बनाएको आशंका छ । मनोजको समूहले सामान्य रिसइवीमा समेत गोली पड्काउन, हतियार देखाउन र ताकेरै गोली हान्न थालेपछि मनोजसँग संगत गरेकाहरू पनि झस्किएका थिए । ०७२ कात्तिक २२ गते दिउँसो व्यस्त खैरेनी बजारमै रहेको पुल हाउसमा २० वर्षीय युवा नारायण बस्नेतको खुट्टामा गोली हानिएको थियो ।

देवदह–२ का २८ वर्षीय मनोज बुढामगर माओवादीको वाइसिएल हुँदै ०६६ सालमा युवासंघमा प्रवेश गरेका हुन् । युवासंघ रुपन्देही—१ को क्षेत्रीय कमिटी कोषाध्यक्ष रहेका उनी युवा संघमा ६ महिनाभन्दा टिक्न सकेनन् । पटक—पटक चेतावनी दिँदासमेत नसुध्रिएपछि युवा संघले उनलाई कारबाही गरेको थियो । युवा संघसँगको आबद्धता तोडेपछि झन् उनले आपराधिक सञ्जाल विस्तार गरी चन्दा असुली, फिरौती असुलीलाई निकै व्यापक बनाएको स्थानीय जानकार बताउँछन् ।

०६१ सालमा केरवानी उच्च मावि खैरेनीबाट एसएलसी दिएका उनी माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी हुँदै वाइसिएल छिरेका थिए ।

लामो समय दक्षिण कोरिया बसेर पाँच वर्षअघि देवदहमै केबिआई इँटा उद्योग खोलेका तिवारी यहाँ राजनीतिक रूपमा प्रतिबद्ध र इमानदार कार्यकर्ताको रूपमा गनिन्छन् । युवा संघको जिम्मेवारी सम्हाल्दै युवा व्यवसायीको समेत छवि बनाएका तिवारीमाथि भएको आक्रमणको विरोधमा युवा संघले अनिश्चिनकालीन बन्दको घोषणा गरेको छ । ५ नम्बर प्रदेश टुक्र्याउनुहुन्न भन्दै आन्दोलनले तातेको बुटवलमा तिवारी हत्याको विरोधमा भएको आन्दोलनले तनाव थपिएको छ ।

टिप्पणीहरू