सबै श्रेणीहरू

खै, कताबाट चल्छ यो खाता

खै, कताबाट चल्छ यो खाता

पुख्र्यौली सम्पत्ति ल्याएको थाहा छैन । उनी आफैंले कुनै व्यापार व्यवसाय गरेका पनि होइनन् । उनीभन्दा धेरै चर्चित किरण मानन्धर, शशिविक्रम शाह, कृष्ण मानन्धर, उत्तम नेपालीहरूको स्थिति हेर्दा पनि थाहा हुन्छ । रोजीरोजी चलाउनै कष्ट छ । न त रागिनी उपाध्याय ग्रेलाको चित्रकला उनीहरूको भन्दा बढी बिक्री हुने अवस्था छ । त्यसमाथि कला बेचेर कुनै चित्रकारले महँगो टोयोटा कार, आफ्नै आलिसान महल, ४० तोला सुन किन्ने हैसियत राख्दैन । बैंकमा ५८ लाख नगद, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २२ लाख बराबरको शेयर, टोयटा इकोको झण्डै १३ लाख मूल्य पर्ने कार, डेढ लाख मूल्य बराबरको हिरो प्लेजर स्कुटी यी सबै सम्पत्तिको स्रोत के होला ? के चित्र बेचेकै भरमा रागिनी उपाध्यायले यो सम्पत्ति जोडेकी हुन् ? अझै बालकोटस्थित स्टुडियोसहितको दुईवटा बंगला, सिरुटार भक्तपुरका सात फरक–फरक स्थानमा रहेको जग्गाको हिसाब–किताब छैन । स्वदेशमा मात्र उनको नाममा ११ करोड १० लाख बराबरको सम्पत्ति देखिएको छ ।

पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआरधारीले कुनै ओहदामा रहन नपाउने नियम बनाए । तर, बेल्जियमका नागरिक अल्बर्ट ग्रेलासँग विवाह गरेकी रागिनी उतैको पिआरधारी हुन् । विदेशी पिआरधारी रागिनी अहिले ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपति छिन् । ग्रेलासँग सम्बन्धविच्छेद भएको चर्चा चलाए पनि नियमित सम्पर्कमा छिन् । पतिकोमा आउने–जाने क्रम जारी छ । एक मात्र छोरी शिवाता उपाध्याय ग्रेला केही समयअघि युरोपमा बित्दा पति÷पत्नीसँगै थिए । अघिल्लो वर्ष भूकम्पपीडितलाई सहयोग गर्न छोरीको साथ लागेर ग्रेला नेपाल आउँदा रागिनीसँगै बसेका हुन् । रागिनीको नियुक्ति २० भदौ ०७१ सालमा भएको हो, पाँचवर्षे कार्यकालका लागि । आफ्नो नियुक्ति भएको १० दिनसम्म कास्मिरमा हराएकी थिइन् ।

रागिनी अघि–अघि, भारतीय राजदूत पछि–पछि हुन्थे । कुलपति नबनाइएको झोकमा किरण मानन्धरहरूलाई दुःख दिई–दिई दुई वर्ष डर–त्रासमा केही काम गर्न दिएनन् । भएका केही निर्णयसमेत धमाधम उल्टाइए । मानन्धरको पालामा बनाइएका टहरा भत्काइएको मात्र छैन । नियुक्ति पाएका प्रशासन प्रमुख, लेखापाल, स्वकीय समेतलाई चलाउन भ्याएकी छन् । जनआस्थालाई प्राप्त डकुमेन्टमा रागिनीले मोरङ जिल्ला प्रशासन कार्यलयबाट ६११७ नम्बरको नागरिकता २०३८ सालमा लिएको देखिन्छ । जन्म ठेगाना भने काठमाडौं उल्लेख  छ ।