​कसले खान्छ यति धेरै कोशेली

नेपाल सरकारका सचिवले मोबाइल बेचेर खान्छन् भन्दा त पत्याउन मुस्किल पर्छ । तर, अस्ति बानेश्वरमा जम्मा भएका केही म्यानपावर व्यवसायीले श्रम सचिवबाट पाएको सास्तीबारे चर्चा गर्दै जाँदा ‘आइफोन एस सेभेन दिएँ’ भन्ने नै नौजना निस्किए । एउटै मान्छेले एउटै ब्राण्डको त्यत्तिका मोबाइल के गर्लान् ? एकजना व्यवसायी भन्दै थिए, ‘बेच्दो होला नि †’ त्यसबाहेक नाइक, एडिडास र रिबोक ब्राण्डका जुत्ता, ट्रयाक र भेस्ट पठाइदिने त कति–कति !

यसरी अहिले म्यानपावर क्षेत्रमा सचिवको घुमुवा आतंक नै चलेको छ । सचिव हुन्, लक्ष्मण मैनाली । अलिक चल्तीको म्यानपावरका अफिसमा पुग्नुस्, दिनभरि बस्दा एउटा नपत्याउँदो ख्याउटे केटो भेटिनसक्छ । नाम हो, अर्जुन मैनाली । पेशा पत्रकारिता भन्ने, तर कामचाहिँ श्रम सचिवको भाइ हुँ भन्दै कम्पनीहरुसँग ‘डिल’ गर्ने । सचिवले ल्याउनु भनेका चिजहरु नपु¥याउँदा मन्त्रालयको अनुगमन पठाएर कम्पनी बन्द गराइदिनेसम्मको धम्की दिँदै उठ्तीपुठ्ती चल्ने गरेको बसुन्धरामा म्यानपावर चलाउने एक महिलाले बताइन् । 

त्यस्तै, श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार (भदौ ९) को मितिमा सार्वजनिक गरेको काउन्सिलर तथा श्रम सहचारीको मामिला उत्तिकै बद्नाम भएको छ । उपसचिवले काउन्सिलको जिम्मेवारी पाउने कोरिया र मलेसिया, शाखा अधिकृतले जिम्मेवारी पाउने दुबई, ओमन, कुबेत र साउदी अरबमा पठाइने कर्मचारीको सूची सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सूची हेरेपछि काउन्सिलर र सहचारी भएका कर्मचारीलाई म्यानपावर व्यवसायीहरुले पछ्याउने क्रम बढेको छ । त्यही दिन साँझदेखि अस्ति सोमबार साँझसम्म दरबारमार्ग, ठमेलका विभिन्न रेस्टुराँमा तिनलाई भोज खुवाउने म्यानपावरको ताँती लागेको थियो ।

सचिवलाई १० लाख रुपैयाँ दिएर नियुक्ति पाएको बताउने गुल्मीका मोतिराम भुषाल दुबईको लागि सहचारीमा परेका छन् । यो कुरा उनले खानपानकै क्रममा केही म्यानपावर व्यवसायीलाई सुनाएपछि हल्लाको विषय बनेको छ । काउन्सिलरको जिम्मेवारी पाउने उपसचिवहरुका लागि १५ लाख रेट तोकिएको हल्ला छ । उपसचिवमध्ये कोरियामा डिल्लीराम बास्तोला, मलेसियामा बद्रीकुमार कार्की र प्रतीक्षा सूचीमा शिवराम पोखरेलको नाम निस्किएको छ । शाखा अधिकृतमध्ये दुबईमा मोतिराम भुषाल, साउदी अरबका लागि राजु कुँवर, ओमनमा कृष्णाकुमारी गौली, कुवेतमा ज्ञानेन्द्र शर्मा र प्रतीक्षा सूचीमा सनमाया रम्तेल परेकी छन् ।

टिप्पणीहरू