जताततै दुर्घटना, ५ को मृत्यु

जताततै दुर्घटना, ५ को मृत्यु

मुलुकका विभिन्न भागमा भएका सवारी दुर्घटनामा हिजो पाँच जनाको निधन भएको छ । चितवन, इलाम, सुनसरी, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा उनीहरुको ज्यान गएको हो ।

चितवन, भरतपुर महानगरपालिका १६ छहारी चोकमा प्रदेश नम्बर २–०३–००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट स्थानीय लक्ष्मी श्रेष्ठका ५ वर्षीय छोरा बसिम मियाको मृत्यु भएको छ ।

उता इलामको माइजोगमाई गाउँपालिका २ घारेगाउँस्थित सडकमा को. १ त ६८९० नम्बरको ट्याक्टर सडकबाट तल खस्दा ट्याक्टरमा सवार सोही गाउँपालिका ५, सोयाङ बस्ने ५० वर्षीया मनमाया राईको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालककोे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरीको कोशी गाउँपालिका ३ स्थित सडकमा प्र.३–०१–०२४ च ४२६७ नम्बरको सवारी साधनले को. ५ प ७९१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रमधुनी नगरपालिका १ सैनिमैनी बस्ने २४ वर्षीय विशाल चौधरीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते उनको जिल्ला अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा स्थानीय २१ वर्षीय रोहित चौधरीको उक्त अस्पतालमा उपचार भइरहेको छ ।

कास्कीको पोखरा महानगरपालिका २५, हेम्जा शान्ति चोकमा ग. ३ च ४९२२ नम्बरको कारको ठक्करबाट म्याग्दी घर भएका ५५ वर्षीय शंकरबहादुर शिर्पालीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १०, गणेशमान चोकमा बा. १४ च १३८७ नम्बरको गाडीले भे. ८ प ७८०४ नम्बरको मोटरसाइकल र एउटा साईकललाई ठक्कर दिँदा साइकलमा सवार ४२ वर्षीय अर्जमान इद्रिसीको मृत्यु भएको छ ।

टिप्पणीहरू