मसालमा पनि मज्जैको महाभारत

मसालमा पनि मज्जैको महाभारत

कम्युनिष्टहरु कमा र फुलस्टपमै झगडा गरेर विभाजित हुन्छन्, भनिन्छ । शव्द-शब्दमा जति धेरै बहस गर्न सक्यो उति धेरै क्रान्तिकारी होइन्छ भन्ने मान्यता कतिपयमा अझै पनि छ । त्यसमा मोहनविक्रम सिंहले नेतृत्व गरेको अर्धभूमिगत शैलीमा संन्चालित नेकपा मसाल अझै अगाडि छ ।

लामो समय मसालको एकछत्र नेतृत्व गर्नुभएका महामन्त्री सिंहमाथि फरक विचार र भिन्न मत राख्नेमाथि अनुदार हुने गरेको आरोप धेरै अगाडिदेखि लाग्दै आएको हो । फरक मत राख्नेलाई सिंहले अनेक बहानामा पार्टीबाट निकाल्ने गरेको गरेको आठौँ महाधिवेशनपछि कारवाहीमा परेका नेताहरुले बताएका छन् । कारवाहीमा परेका ६ जना नेताले संयुक्त वक्तव्य जारी गर्दै भिन्नमत राखेकै कारण आफूहरुमाथि महामन्त्री सिंहले अन्यायपूर्ण कारवाही गरेको बताए ।‘केन्द्रीय समितिले भेटघाट वा वार्ताद्वारा विवाद समाधान गर्न निर्णय गरेको देखिन्छ भने महामन्त्रीद्वारा वक्तव्य,अन्तर्वार्ता, लेखहरुमा भिन्न मत राख्ने सदस्यहरुप्रति निराधार तथा तल्लोस्तरमा आक्षेपहरु लगाउने गरेको देखिएको छ । यसले गर्दा भिन्न मत राखेको कारणले पार्टीबाट विभिन्न बहानामा निश्कासित वा बिद्रोह गर्न बाध्य बनाइएका पदाधिकारी र सदस्यहरुलाई पार्टीमा पुनर्स्थापित गर्न नेतृत्व इमान्दार छैन कि भन्ने आशंका उत्पन्न भएको छ’, संयुक्त वक्तव्यमा भनिएको छ ।

आठौँ महाधिवेशनमा फरक दस्तावेजको प्रस्तावक रहेका ६ जना केन्द्रीय सदस्य (जो पछि कारवाहीमा परे) हरुले पार्टीबाट निश्कासित तथा फुटेर गएकासँग भेटघाट र वार्ता गर्न मसालले कार्यदल बनाएकोमा खुशी व्यक्त गरेपनि महामन्त्री सिंहको कार्यशैलीको भने विरोध गरेका छन् । भदौ २९ देखि ३१ गतेसम्म बसेको मसालको केन्द्रीय समितिको वैठकले पार्टीबाट निश्कासित वा फुटेर गएकासँग भेटघाट वा वार्ता गर्न कार्यदल बनाएको र त्यसैका आधारमा आफूहरुले पनि वार्ता गर्न वक्तव्य सार्वजनिक गरेको उनीहरुले प्रष्ट्याएका छन् ।

उनीहरुले पार्टी र नेतृत्वद्वारा गरिएका सबै गलत पध्दति तथा नीतिहरुको विरोध गर्दै आठौं महाधिवेशनमा भिन्नमतको दस्तावेज प्रस्तुत गर्नेहरु नेतृत्वसँग वार्ता गरेर पार्टीलाई क्रान्तिकारी दिशा दिन तयार रहेको बताएका छन् ।

मसालको आठौँ महाधिवेशनमा कृष्णराज पौडेल,विमल शर्मा, गोविन्दसिंह थापा,रामबहादुर बुढा, सुरेन्द्र भण्डारी र ओमबहादुर केसीले फरक मत राखेका थिए । फरक मत राखेकै आधारमा महामन्त्री सिंहले अनेक बहानामा आफूहरुलाई पार्टीबाट निकालेको उनीहरुको दाबी छ ।

टिप्पणीहरू