नेपाल टेलिभिजनलाई चुक्ता गर्नुपर्ने करोडौं बक्यौता तिर्नु नपर्ने, कलाकारको पैसा पनि दिनु नपर्ने । यसरी एकातिर कलाकारलाई उधारोमा, अर्काेतिर प्रसारण संस्था (नेपाल टेलिभिजनलाई) उधारोमा राखेर अरूलाई टाट पल्टाएर मोज गर्दै आएका सोम धितालले ज्योति काफ्ले, अशोक धितालहरूको उक्साहटमा लागेर आफूलाई छाडी गएका कलाकारविरुद्ध टेकु प्रहरीमा मुद्दा दर्ज गरी अन्त्यमा ब्याक भएका छन् ।
‘मुद्दा हालियो अब छाडेर जाने कलाकार सिद्धिए’ भन्दै आएका धितालले कलाकारलाई लगाएको आरोप कमजोर थियो । चौतर्फी उनको आलोचना हुन थालेपछि र हार्ने देखेपछि उनले उजुरी फिर्ता लिए ।
लामो समयसम्म भद्रगोलका कलाकारको श्रमशोषण गर्दै आएका सोमको ज्यादतीबाट आजित भएका कुमार कट्टेल, हरि निरौला, सागर लम्साल, अर्जुन घिमिरेलगायतको टिम मिडिया हब छाडेर ‘कि एड्भरटाइजिङ’सँग अनुबन्धित हुन पुग्यो । चर्चित कलाकारले छाडेपछि अरु कलाकार राखेर मिडिया हबले भद्रगोल प्रसारण गर्न थाल्यो । कथावस्तु र चरित्र यति कमजोर रह्यो कि युट्युबमा लाइकभन्दा डिस्लाइक बढी आउन थाल्यो । जस्तो ः यही हप्ताको भद्रगोल युट्युबबाट २ लाख ४ हजार ३८१ जनाले (यो समाचार तयार पार्दासम्म) हेर्दा ६ हजारले डिस्लाइक (मन पराएका छैनन्) गरेका छन् भने लाइक गर्नेको संख्या ४ हजार ६ सय मात्र देखिन्छ ।
उता, कि एडभरटाइजिङको ब्यानरमा प्रस्तुत हुन थालेको ‘सक्की गो नि’ श्रृंखला भद्रगोलभन्दा झण्डै ९ गुणा बढी दर्शकले यु्ट्युबमा हेरेका छन् । सक्की गो नि को सातौं श्रृंखला १९ लाखभन्दा बढीले हेरेका छन् । सुपर फ्लप हुन थालेपछि सोम धितालले नयाँ स्टण्ट रची क्यारेक्टरहरू नक्कल गरेको आरोपसहित कपी–राइटको उजुरी दर्ज गरेका छन् । धितालको तर्क थियो, आफूले जन्माएका पात्रलाई अन्यत्र प्रयोग गर्न नपाइने । धितालले यी कलाकार आफूले जन्माएको दाबी गरे पनि यी चरित्र भद्रगोलबाट नभई अन्य श्रृंखलाबाट आएका हुन् । सिस्नुपानी झ्याम्मैले जन्माएको हो पाँडे (अर्जुन घिमिरे) लाई । मेरी बास्सैबाट जन्मिएको पात्र हो– जिग्री (कुमार कट्टेल) ।
जानकारहरूका अनुसार सतहमा कलाकार र सोम धितालबीचको लफडा देखिए पनि चुरो लडाइँचाहिँ विज्ञापन एजेन्सीका मालिकहरूको हो । एक दशकभन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा एकछत्र राज गर्दै आइरहेका विज्ञापन व्यवसायी हुन् सोम धिताल । मिडिया हबकै ब्यानरमा ५÷६ वटा स्लट हात पारेर टेलिश्रृंखला प्रशारण गर्दै आएका धिताललाई एकपछि अर्काे कलाकारले साथ छाड्न थालेका छन् । अहिले कि एडभरटाइजिङ प्रायोजक रहेको र भारतको चर्चित सो कमेडी विथ कपिल शर्माबाट प्रभावित भएर जितु नेपालले सञ्चालन गर्दै आएको मुन्द्रेको कमेडी क्लब युट्युबमा सक्की गो नि टेलिश्रृंखलाझैं अत्यधिक हेरिनेमा पर्छ । हरेक श्रृंखला १० लाखभन्दा बढीले युट्युबमार्फत हेरेको देखिन्छ । अर्काे टेलिश्रृंखला गोलमाल पनि प्रसारण हुँदै आएको छ ।
अर्को मुर्गा फसाएको आरोप
मिडिया हबका मालिक सोम धितालले नयाँ मुर्गा फेला पारेको खबर छ । धितालले कर्मचारी सञ्चयकोषसँग आबद्ध एक सिएलाई साझेदार बनाएका छन् । स्रोतका अनुसार धिताल थरकै ती सिए तीन करोड लगानी गरेर साझेदार बन्न आइपुगेका हुन् । सम्पत्ति शुद्दीकरण विभाग सक्रिय बनिरहँदा ती सिएले कालो धनलाई सेतो बनाउन लगानी गरेको चर्चा छ । अहिले प्रहरीले जुवाघरबाट भिआइपी जुवाडेको पक्राउलाई तीव्र पारिरहेको छ । हरेक शनिबार धितालको चण्डोलस्थित निवासमा यस्तै अखडा जम्ने गरेको निकट स्रोतले सुनायो ।