चिनियाँ विदेशमन्त्रीको भेटघाट सकियो

चिनियाँ विदेशमन्त्रीको भेटघाट सकियो

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रमुख दुई कम्युनिष्ट पार्टीका अध्यक्षहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । तीन दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि विदेशमन्त्री वाङले नक्सालस्थित होटल मेरियटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।केही समयको अन्तरालमा भएका दुवै भेटवार्तामा द्विपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ ।

‘अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा खासगरी विआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स)सँग जोडिएर जुन आयोजनाहरु हामीले अघि बढाउन सहमति गरेका छौं, तिनीहरुलाई निरन्तरता दिनुपर्छ । तिनीहरुलाई छिटोभन्दा छिटो सम्पन्न गनुपर्छ भन्ने धारणा राख्नुभयो,’ भेटवार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले भने ।

नेपालले फाइदा लिन सक्ने सडक, रेल, सिँचाई, जलविद्युत उत्पादन, नाकाहरु निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरु छिटो अघि बढाउनु पर्ने धारणा अध्यक्ष ओलीले राखेको भट्टराईले बताए । जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयनतर्फ लैजाने प्रतिबद्धता दोहोर्याएको बताइएको छ । उनले ठूलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएकोसमेत बताएका थिए ।

ओलीसँगको भेट्पछि विदेशमन्त्री वाङले मेरियटमै अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका थिए । ओलीसँग भेटवार्ता चलिरहेका बेला प्रचण्डसहित माओवादीका नेताहरु उक्त होटल पुगेका थिए । प्रचण्डसँगको भेटमा पनि दुई देश र दुई पार्टीका साझा हित र चासोका बारेमा कुराकानी भएको बताइएको छ ।अस्ति शुक्रबार नेपाल आइपुगेका विदेशमन्त्री वाङ आजै स्वदेश फर्किने कार्यक्रम छ । हिजो उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानमन्त्री शेरबहादुर देउवा र आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

टिप्पणीहरू