उम्मेदवारी अघि राजीनामा दिनुपर्ने प्रावधानविरुद्धको मुद्दा हेर्न भ्याइएन

उम्मेदवारी अघि राजीनामा दिनुपर्ने प्रावधानविरुद्धको मुद्दा हेर्न भ्याइएन

स्थानीय तहका उम्मेदवार बन्न राजीनामा दिनैपर्ने प्रावधानविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई नहुने भएको छ । गत मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफल गर्न आज दुवै पक्षलाई बोलाउने आदेश दिएको हो ।

त्यति बेलासम्मका लागि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बुँदा कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइएको सो मुद्दामा आज हेर्न नभ्याइने भन्दै पेसी सारिएको हो । निर्वाचन आयोगले चैत्र पहिलो साता जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको बुँदा नम्बर ३६ मा उम्मेदवार बन्नका लागि जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने प्रावधान राखिएको छ ।सो प्रावधानविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाई गर्दै गत मंगलबार न्यायधीश वमकुमार श्रेष्ठको एकल इजलासले आजका लागि दुवै पक्षलाई बोलाउने आदेश दिएको छ ।

आज सो मुद्दा सर्वाेच्चका ८ नम्बरको इजलासमा न्यायधीशद्वय प्रकाशमान सिंह राउत र कुमार चुडालको संयुक्त बेञ्चमा सुनुवाईका लागि तोकिएको थियो । पेशी सूचीअनुसार, १६ नम्बरमा सुनुवाइका लागि तोकिएको सो मुद्दा हेर्न नभ्याएको कारण आजका लागि सुनुवाई सरेको छ । अब दुवै पक्षलाइ चैत २१ गते साेमबार बाेलाइएकाे छ ।

आयोगले आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवर बन्नका लागि हाल बहालरत जनप्रतिनिधिहरुले स्थानीय तहको चुनावमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध शेर्पा सर्वोच्च पुगेका हुन ।

टिप्पणीहरू