झुक्याएर काँग्रेसमा छिराइएको भन्दै मुद्दा हाल्ने चेतावनी
नेकपा माओवादी केन्द्र अछामका एक जना स्थानीय कार्यकर्ताले आफूलाई झूठा आश्वासन दिएर काँग्रेस प्रवेश गराइएको भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
अछामको पञ्चदेव विनायक नगरपालिकाका प्रेमप्रसाद तिमिल्सिनाले आज विज्ञप्ति सार्वजनिक गर्दै आफूलाई काँग्रेसका मान्छेले जबर्जस्ती पार्टी प्रवेश गराएको आरोप लगाउँदै त्यसविरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् ।
हिजो आफू काम विशेषले कुइकास्थित वडा कार्यालय पुगेका बेला काँग्रेसी कार्यकर्ताले जबर्जस्ती समातेर पार्टी प्रवेश गराएको उनको आरोप छ । त्यसप्रति आफ्नो घोर आपत्ति रहेको जनाउँदै उनले आफू माओवादी केन्द्रमै रहेको पनि प्रष्ट्याएका छन् ।
‘मैले २०औँ वर्ष रगत, पसिना बगाएको पार्टी नेकपा माओवादी केन्द्रमा रहेको र बाँकी जीवन पनि यसै पार्टीमा रहने प्रतिबद्धता जनाउँछु’, उनले भनेका छन् । साथै, यस घटनालाई लिएर निराश नहुन उनले माओवादी समर्थकहरुलाई आग्रह समेत गरेका छन् ।
यसैलाई लिएर आफूबारे सामाजिक सञ्जालमा गलत प्रचार गरिएको भन्दै उनले कानुनी उपचारको बाटोमा जाने उल्लेख गरेका हुन् । ‘हिजो मेरा विषयमा सामाजिक सञ्जालमा नियोजित ढंगबाट गरिएको कुप्रचारको विषयमा मेरो गम्भीर आपत्ति रहेको छ र मेरो विषयमा व्यक्तिगत रुपमा मनपरी लेख्ने व्यक्तिलाई प्रचलित ऐन र साइबर क्राइमबमोजिमको मुद्दा हाल्ने निर्णय गरेको छु ।’
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै विभिन्न पार्टीका ठूला नेता र बहालवाला जनप्रतिनिधि नै पार्टी फेर्न दौडधुप गरिरहेका बेला माओवादीका स्थानीय कार्यकर्ताको यस्तो भनाइ आएको हो । यसअघि माओवादीका एक स्थानीय कार्यकर्ताले आफूलाई धतुरो खुवाएर एमालेमा प्रवेश गराइएको भन्दै आपत्ति जनाएका थिए ।
टिप्पणीहरू