कुन जाँगरले कुद्ने कमरेड ?

कुन जाँगरले कुद्ने कमरेड ?

यति सीट र उति सीट भनेर जतिसुकै हिसाव निकाले पनि पार्टीका नेताहरूमै थकित र पलायनउन्मुख मनस्थिति (ह्यारेस्ड मेन्टालिटी) भएपछि कुन नेता जाँगरले जनतामा जालान् ? अनि, यस्तो भएपछि सीट र संख्या टाढाको कुरा भएन र ?

यी प्रश्न एमाले अध्यक्ष केपी ओलीको चुनावी दावीका सन्दर्भमा पार्टीभित्रै उठ्न थालेका छन् । किनभने, उहाँ एकातिर माधव नेपाल र प्रचण्डहरू अलग भएपछि त्यसको पुर्तालस्वरुप माओवादी र मधेसीलाई पार्टी प्रवेश गराइएको भन्दै हुनुहुन्छ । अर्कातिर, आफूसँगै भएको ठूलो पंक्ति निराश छ, बिष्फोटनउन्मुख भएर बसेको छ ।

माधव, झलनाथ, प्रचण्डहरूबाट छुटेपछिको क्षतिलाई नयाँ मान्छेहरू भित्र्याएर पुर्ताल गर्ने कुरा आफैँमा कति व्यवहारिक होला ? वर्गवादी कम्युनिष्ट आन्दोलनलाई जीवन मानेर विकसित नेता र कार्यकर्ताहरूको क्षतिपूर्ति नयाँ मानिसहरूबाट हुन्छ कि हुँदैन ?

एमाले भएर जनताबीच स्थापित थुप्रै त्यागी नेता नदेख्दा जनताले हिजोसम्म मधेसवादी दलको झण्डा बोकेर हिँडेका मान्छेलाई आज एमाले भनी पत्याउलान् कि नपत्याउलान् ? अनि, ती मानिसबाट माधव, झलनाथ, भानुभक्त जैसी, गौरा प्रसाईं, राजेन्द्र पाण्डे र गंगालाल तुलाधरहरूको शोधभर्ना सम्भव होला ?

एमालेभित्रैको असन्तुष्टि भुसको आगोझैँ भित्रभित्रै दन्किँदो छ । मुस्ताङबाट पञ्चायतकालदेखि नै आन्दोलनसँग जोडिएर ०४८ बाटै संसदीय अभ्यासमा आएकी श्रीमाया थकाली अहिले एमालेको जम्माजम्मी साधारण केन्द्रीय सदस्य ! तर, ०५५–०५६ पछि नेपाली कांग्रेसबाट आएकी निरुदेवी पाल पोलिट्व्युरो सदस्य । अर्थात्, कोही व्यक्ति केपी ओली निकट भएको र नभएको नाममा व्यवहार भइरहेको छ ।

ममता गिरी लगातार तीनचोटि केन्द्रीय सदस्य भएकी, अहिले पनि जम्माजम्मी त्यति मात्रै । पर्शुराम मेघी गुरुङ ०४८ देखि सांसद, पञ्चायतको पनि मध्यकालदेखि आन्दोलनमा जोडिएका व्यक्ति सादा केन्द्रीय सदस्य, तर ०४६ सालदेखि आएका शेरधन राई, राजन भट्टराईहरू स्थायी कमिटी ।

भर्खरै पार्टी प्रवेश गराएर झापाका मेडिकल माफिया दुर्गा प्रसाईंलाई सीधै केन्द्रीय सदस्य तर झापा आन्दोलनमा १७ वर्ष जेल बसेका नरेश खरेललाई सामान्य केन्द्रीय सदस्यबाट पनि आउट ।

‘पोइल जान पाम्’ भन्दाभन्दै अवधी नै नपुगी कोमल वली केन्द्रीय सदस्य, तर उपत्यकाको नेवार समुदायका स्थापित युवा सुरेन्द्र मानन्धर र सुदूरपश्चिमका योगेन्द्र शाहीहरू पार्टी नेतृत्वबाट कत्लेआम । डा.दीपकप्रकाश भट्ट, भाष्कर काफ्लेहरूको नाम पनि केन्द्रीय सदस्यमा छैन ।

चितवनबाट दुई पटक जितेका, अरु एमाले फर्किनुअघि नै विभाजन अस्वीकार गरेका कृष्णभक्त पोखरेल उस्तै पाराले अपमानित । जबकि, मनोनित केन्द्रीय सदस्य राजेन्द्र रावल पहिलोचोटिमै पोलिट्व्युरो सदस्य । अरुण नेपालले पोलिट्व्युरोमै खुम्च्याइएपछि विरक्तिको गीत गाउन थालेका छन् ।

उता, माधव नेपाल नेतृत्वको नयाँ पार्टी एकीकृत समाजवादी जुन गतिका साथ जनतामा पुग्नुपथ्र्यो, त्यसो नहुँदा क्षति हुने अनुमान गर्न थालिएको छ । कांग्रेस नेता मीनेन्द्र रिजालले त भने नै, ‘पोखरा र काठमाडौंको मेयर समाजवादीलाई दिनु भनेको एमालेलाई बुझाउनु हो †’ किनभने, एमालेलाई हराउनुपर्ने समाजवादीको पंक्ति उति उत्साहसाथ जनताबीच पुग्न सकेको देखिन्न ।

टिप्पणीहरू