कस्तो काइदाः एकातिर ठोक्ने, अर्कोतिर बोक्ने !

कस्तो काइदाः एकातिर ठोक्ने, अर्कोतिर बोक्ने !

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले ‘ताक्छ एकातिर, लगाउँछ अर्कोतिर’ भन्ने उखान टुक्कालाई व्यवहारमा लागू गर्न खोजेको आरोप छ । राजनीतिक विश्लेषकका अनुसार ओली नबुझ्ने वा चुनावी हिसाबकिताब निकाल्न नसक्ने नेता होइन तर हिसाबकिताब जे गरिन्छ त्यो नभन्ने र बडो आत्मविश्वाससाथ ठीक उल्टोउल्टो बोल्न सक्ने चतुर राजनीतिज्ञमा पर्नुहुन्छ ।

अहिले ओली कांग्रेसलाई १३ सिटमा खुम्च्याइदिनुपर्छ, यसलाई ध्वस्त बनाइदिनुपर्छ भन्दै उचालेर जम्मै सिटमा ऊ एक्लै लड्ने वातावरण तयार गर्नतिर जुटेको विश्लेषण राजनीतिज्ञले गरेका छन् । गठबन्धन घातक हुनसक्ने ठहरसहित ओलीले कुनै पनि हालतमा कांग्रेसलाई गठबन्धनबाट अलग गरे मात्रै सफलता हात लाग्ने निश्कर्षमा उल्टो छर्रा छाडेको दाबी गर्नेहरू धेरै छन् ।

यसका निम्ति इमोशनल व्ल्याकमेलिङमार्फत् वंशज कांग्रेसीको दिमाग चाट्ने काम शुरु भएको बताइन्छ । यदि गठबन्धन कायम रहे पछिल्लो राष्ट्रियसभा चुनावमा झैं आफूलाई घाटा हुन्छ भन्ने बुझेरै उहाँले कांग्रेसलाई १३ सिटमा खुम्च्याउने दाबी गरिरहेको नजिकबाट चिन्नेहरूले बताएका छन् । यसको निराशाजनक असर आफ्ना कार्यकर्तामा नपरोस्, मतदातामा भ्रम फिँजाउन सकियोस् भनेरै जानाजान यस्ता स्टन्ट मच्चाइएको कुरा ‘आइ लभ यु बा’ भन्नेहरूलाई पत्याउन मुश्किल पर्ने पक्का छ ।

ओलीले कांग्रेसलाई १३ सिटमा खुम्च्याउने कुरा गर्दै हिँड्दा महासचिव शंकर पोखरेल भने ‘कि एमालेलाई कि त नेपाली कांग्रेसलाई भोट देऊ’ भनिरहेका छन् । यसले अन्य साना दललाई निषेध गरेको संकेत गर्छ । यसबाट एमालेले कांग्रेसले अन्य साना दलसँग गरेको तालमेलका कारण पर्न सक्ने असरको मूल्यांकन गरेको प्रष्ट हुन्छ ।

त्यसैले एमसीसी प्रकरणपछि कांग्रेसलाई उरालेर जसरी भए पनि गठबन्धन तोड्ने पहिलो प्रयास शुरु भएको बुझ्न गाह्रो छैन । हिजो आफु कमजोर दल हुँदा बहुदल चाहिने, आज ठूलो हुनेबित्तिकै बहुदल नचाहिने, दुई दल मात्र चाहिने भनेपछि बहुदलीय जनवादको कुरा गर्नुको कुनै अर्थ रहेको देखिन्न ।

यो जनताको बहुदलीय जनवादको गलत व्याख्या पनि हो । गणतन्त्र आइसकेपछि पनि जनवाद भन्न नछाड्नुले यसैतर्फ संकेत गरेको छ । जनवादी क्रान्ति सम्पन्न भइसक्दा पनि जनवादको नारा एमालेले नछोड्नुका पछाडि मदन भण्डारी ब्राण्ड, सूर्य चिह्न ब्राण्ड हो भन्ने ठहर राजनीतिक विश्लेषकको छ । कम्युनिष्ट आदर्श र सिद्धान्त सबै कुरा छाड्ने तर नाम लिइरहन भने नछाड्ने ढोंगी र धार्मिक प्रवृत्ति यतिबेला एमालेमा हावी भएको देखिएको बताइन्छ ।

पार्टी फुटेको क्षतिपूर्ति अन्यत्रका मान्छे प्रवेश गराएर पूरा गर्ने हो भनेर अध्यक्ष केपी ओलीले अस्ति पोलिटब्यूरो बैठकमा उद्घोष गरिसक्नुभयो । माओवादीबाट वैद्यहरू फुटेपछि हेटौंडा महाधिवेशनमा हरेक तहको सदस्यता नवीकरण गरिएको थियो । त्यतिबेला पूरै टाउका गनेर हिसाब गर्दा १० प्रतिशत असर परेको हिसाब निक्लियो । तर, १० प्रतिशत होइन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सय २१ सिट जितेको माओवादी ०७० साल नपुग्दै २६ सिटमा झ¥यो ।

भनिन्छ– चुनाव हो– यसको मुखमा कति आए कति गए भन्ने कुराको कुनै अर्थ हुँदैन । मानिलिऊँ माधवकुमार नेपालसँग १० प्रतिशत कार्यकर्ता र नेता नै गएछन् रे ! २० प्रतिशत सांसद गएकै हुन् । जति भए पनि पार्टी फुटेको त हो । फुटेको पार्टी भन्नासाथ मतदाताको मनोविज्ञान विभाजित हुन्छ, त्यसको प्रतिकूल प्रभावको हिसाब गर्न सकिँदैन ।

चुनाव भनेको समयको खेल हो । लहरले मात्रै चल्थ्यो भने ०६४ मा सलहसरि सिंहदरबार छिरेको माओवादी ०७० मा सुक्ने र पछि क्रमशः काँग्रेस, एमाले फुक्ने स्थिति नै बन्दैनथ्यो । चुनाव जित्न संगठन मात्रै भएर पुग्दैन, अनि लहर त अस्थायी हुन्छ । मुख्य कुरा जनताको मन जित्नु हो । यतातिर दलहरू लागेको देखिन्न । बरु झूठ, गालीगलौज, बेइमानी, आयाराम–गयारामको खेति मौलाउँदो छ ।

०५६ सालमा पनि महाकाली सन्धिको विषयलाई लिएर वामदेव गौतम फुटेपछि एमाले सबैभन्दा ठूलो दल बन्न सकेन, वामदेवको पार्टीले ६ लाख मत ल्यायो । पछि उनी एमालेसँग मिल्न जाँदा २५ प्रतिशत कार्यकर्ता माओवादीतर्फ लागे । एमालेमा फर्किएनन् । इतिहास बनेको यस्ता कुराले पनि अहिले एमालेमा देखिएको फुटको असर महँगो नपर्ला भन्न सकिन्न ।

कहिलेकाहीं चुनावको मुखमा दल बदलले उल्टो प्रभाव पर्न जान्छ । रवीन्द्र श्रेष्ठ माओवादी छोडेर माधवकुमार नेपालको सामान्य प्रशासनमन्त्री बनी चुनावी प्रचार गर्न हिँडेकै हुन् । त्यसले एमालेलाई कति फाइदा पुग्यो ? सदाबहार दलबदलु प्रेमबहादुर सिंह फेरि एमालेमा फर्कंदा त्यसले मतदातालाई पार्ने असर कति हो ? त्यस्तो पात्रलाई भोटरले कति विश्वास गर्लान् !

भर्खरै वीरगञ्जका मेयर विजय सरावगी एमाले पसे । उनको प्रवेशले एमाले तराईमा उत्साहित बनेजस्तो देखिए पनि वास्तविकता भने अर्कै छ । उनले एमाले पस्नु केही साता पूर्व प्रचण्डसँग भेटेका थिए । एक माओवादी मुस्लिम युवाको खुलेर प्रशंसा गर्दै वीरगञ्जमा माओवादीले सोचेभन्दा राम्रो काम गरेको बयान गर्नुको साथै आफूले टिकट पाउनुपर्ने माग राखेका थिए ।त्यसैबीच, सरावगीले कांग्रेसमा प्रवेश गर्ने करिब टुंगो लागेको अवस्था थियो ।

तर, उनलाई धनाढ्य मोती दुगडले एमाले बनाइदिए । सरावगीले सार्वजनिक स्थलमै ‘मोती दुगडले अचानक बालकोट लिएर गए अनि म बाइचान्स एमाले बनें’ भनेकै छन् । उनी एमाले पस्नुको अन्तर्य भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरालाई वीरगञ्जबाट उठाउँछन् भन्ने त्राश नै हो । त्यसैले उनी जसपा छाडेर अन्य पार्टी चहार्दाचाहार्दै ‘संयोगबश’ एमाले हुन पुगेका हुन् ।

ठम्मरको ठमठमी

अति गर्दा खति हुन्छ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टलाई हेर्दा पुग्छ । धम्क्याउँदै मन्त्री पद लिन तम्सिएका उनलाई सो पार्टीले दलको विधानविपरीतका अभिव्यक्ति र गतिविधि गर्दै आएकाले सांसदबाट निश्कासन गरेको छ ।

छँदाखाँदाको सांसद पनि सिध्याउने बिष्टलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘सांसद भयो ठीकै थियो, बार्गेनिङ गरेर प्रमुख सचेतक भयो त्यहाँसम्म ठीकै भयो तर अहिले मन्त्री माग्दै राजीनामाको कार्ड फाल्यो ।’ राजीनामा फिर्ता लिन दलको बैठकले निर्णय ग¥यो तर उनले त्यसलाई धम्की ठान्न पुगे । फलस्वरूप नेता रहेका महेन्द्रबहादुर शाहीले पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै दलको सदस्यबाट निलम्बन गरे ।

अस्तिमात्र राजीनामा स्वीकृत भएका विष्टले ‘ए, सांसद नभएकालाई मन्त्री बनाउने, मलाई मन्त्री नबनाउने ?’ भन्दै एमालेमा जान्छु भन्न थालेपछि सांसद पद नै खुस्काइदिएको दाबी गरिएको छ । बिष्टले मन्त्री बनाइहाल्छन् भन्दै राजीनामा दिए पनि अरू पार्टीमा प्रवेश नगरी त्यसै घुक्र्याउँदै बसेका थिए ।

अहिले धम्क्याउँदै मन्त्री बन्ने रणनीति फेल भएर पद गएपछि एमालेमा प्रवेश गरेका हुन् । एमाले कार्यकर्ताले नै पदलोलुप बिष्ट आफ्नो स्वार्थ पूरा नहुने छेकछन्द देख्नेबित्तिकै अर्को पार्टीमा हाम्फाल्न सक्ने बताउन थालेका छन् । बिष्ट तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने दुईमध्ये एक थिए । उनीसँगै हस्ताक्षर गर्ने धर्मराज रेग्मीलाई त्यसबेलै कारबाही गरेर सांसद पदबाटै माओवादी केन्द्रले हटाइदिएको थियो । अहिले उनी पनि एमालेमा छन् ।

टिप्पणीहरू