चौधरीका चर्तिकला कति हुन् कति !

चौधरीका चर्तिकला कति हुन् कति !

भनिन्छ, भ्रष्टाचार र अनियमित ढंगबाट आर्जित सम्पत्तिले १२ बर्षसम्म मोजमस्ती गर्न सकिएला तर त्यसपछि साँवा ब्याजसहित चुक्ता नगरी सुखै हुन्न । सदैव शक्ति र सत्ताको आडमा सरकारी जग्गा जमिन कब्जा गर्दै आएका एक पात्रको हकमा ठ्याक्कै त्यस्तै स्थिति पैदा भएको छ । विनोद चौधरी जोडिएको सिजी होल्डिङ्ग्सका नामको ११५ रोपनीभन्दा बढी जग्गा अख्तियारले हालै रोक्का गरेको छ । 

पनौती नगरपालिका–९ खोपासीस्थित जग्गा गैरकानुनी तरिकाले किनबेच भएको देखिएको भन्दै हालै राखिएको हो । यो ठाउँमा ०४२ सालमै त्रिशक्ति सिमेन्टले २ सय १३ रोपनी जग्गा हात पारेको थियो । ०५७ सालमा क्याबिनेटबाट निर्णय गराएर ११५ रोपनी जग्गा चाँदबाग स्कूल र सिजी होल्डिङ्ग्सलाई बिक्री गरेको भेटियो । दुई वर्षभित्र अन्यत्र जग्गा खरिद गरी बेच्ने शर्तमा मन्त्रिपरिषद्ले अनुमति दिएको थियो । त्यसका लागि कृषि विकास बैंकमा ९० लाख रुपैयाँ रोक्कासमेत राखियो । तर, त्रिशक्तिले दुई वर्षभित्र अन्यत्र जग्गा किनेन । बरु २३ मंसिर २०५७ मा एकल नाममा पास भयो । सिजी होल्डिङ्सको स्वामित्वमा पुग्यो । अहिले त्यहाँ हाउजिङ बन्दै छ । पतञ्जली प्रकरणको अर्काे रुप हो ।

मन्त्रिपरिषद्कै संलग्नतामा जग्गाको खरिद बिक्री भएको छ तर पतञ्जलिले हाउजिङ कम्पनीलाई बेचेको थियो भने त्रिशक्तिले व्यक्तिलाई । हदबन्दीभन्दा बढीको जग्गा व्यक्तिले किन्न पाउँदैन अर्काेतिर उद्योगका नाममा किनेको जग्गा व्यक्तिलाई बेच्न मिल्दैन । उपत्यकाभित्र कृषि प्रयोजनमा २५ र घरबारीका लागि पाँच रोपनी राख्न पाइने कानुन छ भने सबै पहाडी क्षेत्रमा ७० र पाँच रोपनी जग्गा व्यक्ति वा परिवारले राख्न पाउँछन् तर गिरिबन्धु प्रकरणझैं हदबन्दीभन्दा बढी जग्गा सिजीका नाममा भेटिएसँगै यस अघिका प्रमुख मालपोत अधिकृत दीपक निरौलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिले पठाएको प्रतिवेदनका आधारमा अख्तियारले हात हालेको हो । त्यहाँ ९१ वटा घर धमाधम बन्दै छ । 

चौधरी जहाँ, लफडा त्यहाँ

चाहे काठमाडौंको थापाथलीभन्दा उत्तर, माइतीघर हाइटभन्दा दक्षिणमा रहेको युनाइटेड मिसन टु नेपाल (युएमन) को ६ रोपनी ३ आना २ जग्गा प्रकरण होस वा सानेपा हाइटमा बनिरहेको समिट होटल, भैसेपाटीको सिजी हाउजिङ्ग होस् वा पुल्चोकको सहकारीको जग्गा विवादमा मुछिएको छ, चौधरी समूह । 

भूमाफियाले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित एउटा खोलाको किनारै आफ्नो नाममा ल्याएर बेचबिखन गरेको बिषय बाहिरिएको धेरै भयो । यो एउटा मात्र यस्तो खोला हो कर्मनशा, जो उत्तरतर्फ बग्छ । सोही खोलाको किनारै आफ्नो नाममा ल्याएर बेचबिखन गर्नेमा सक्रिय रहे, तत्कालीन नापी प्रमुख भरतसिंह ऐर, सर्वेक्षकद्वय केशव थापा र विनोदकुमार चौधरी । सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जनलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइँदा नारायण डंगोल अमेरिकामा रहेका कारण समात्न नसकिएको प्रहरीले जनाएको छ ।

भूमाफियाको एउटा समूहले ५ आना जग्गालाई लिखत कीर्ते गरी अगाडि १ थपेर १ रोपनी १५ आना बनाई बेचेको यो प्रकरणमा प्रहरीले भूमाफियालाई एकाथरी कानुन र कर्मचारीलाई अर्काेथरी व्यवहार गरेको गुनासो छ । भूमाफियाहरू पक्राउ पर्दा कर्मचारीहरू अनुसन्धान प्रक्रियामा तानिएनन् । सरकारी जग्गालाई निजी बनाउने सुजिताका नाममा ललितपुर नगरपालिकाभित्र १४ ठाउँमा जग्गा जमिन भेटिएको छ ।

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)   


 

टिप्पणीहरू