वाङ यी बेइजिङतर्फ उड्नेबित्तिकै चिनियाँ धारणा सार्वजनिक
नेपालको तीनदिने भ्रमण सकेर आज दिउँसो स्वदेश फर्किएका चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले नेपालको सार्वभौमसत्तामा आँच आउने तथा भूराजनीतिक खेलमा संलग्न हुने कुनै पनि प्रयासको चीनले विरोध गर्ने बताएका छन् ।
परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेटवार्तामा विदेशमन्त्री वाङले यस्तो बताएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले लेखेको छ ।
विदेशमन्त्री वाङले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने,आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र भूराजनीतिक खेलमा संलग्न हुने कुनै पनि प्रयासको आफ्नो देशले प्रतिरोध गर्ने बताएको समाचारमा जनाइएको छ ।
चीनले नेपाललाई स्वतन्त्र घरेलु तथा परराष्ट्र नीतिहरू अवलम्बन गर्न सहयोग गरेको बताउँदै उनले आकारमा जस्तोसुकै भए पनि चीनले सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने विश्वास पनि दिलाएका छन् ।
चीनले नेपालको राष्ट्रिय परिस्थिति अनुकूल विकासको बाटो खोजीमा सघाउन तथा जनताको आधारभूत र दीर्घकालीन हितका लागि नेपालका सबै दल र समूहलाई समावेशी परामर्शमा सहभागी हुन प्रोत्साहित गर्नेसमेत उनले बताए ।
‘दुई देशको अन्तर्राष्ट्रिय वा आन्तरिक परिस्थिति जतिसुकै फेरिए पनि चीन दुई देशका नेताहरूद्वारा निर्धारित दिशामा साझा भविश्यसहितको चीन–नेपाल समुदायलाई प्रवर्धन गर्न प्रयासरत रहने छ’,वाङले भने ।
ग्लोबल टाइम्सका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागितालाई अगाडि बढाउन नेपाललाई चीनले दिने समर्थनबारे पनि परराष्ट्रमन्त्री खड्कासँग वाङले विशेष कुराकानी गरेका छन् ।
आफ्नो मानव संशाधन,भौगोलिक स्थिति र राष्ट्रिय पारिस्थितिका साथै चीनको विकासले ल्याएका अवसरहरूको सदुपयोग गरी विकास र पुनरुत्थानलाई तीव्रता दिन आफूहरू नेपाललाई सघाउन सदा तयार रहेको समेत विदेशमन्त्रीले आफ्ना समकक्षी खड्कालाई बताएका छन् ।
परराष्ट्रमन्त्री डा.खड्काले नेपालको सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका साथै वाह्य हस्तक्षेपको विरोध गर्ने प्रयासमा चीनले गरेको समर्थनलाई धन्यवाद दिँदै नेपाल एक चीन नीतिप्रति दृढताका साथ उभिने प्रतिबद्धता जनाएको ग्लोबल टाइम्सले लेखेको छ ।
नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएलगत्तै विदेशमन्त्री वाङको नेपाल भ्रमण हुनुलाई कतिपयले चीनको भूराजनीतिक चासोका रुपमा हेरेका थिए ।
सफ्ट डिप्लोमेसी (मौन कूटनीति) मा विश्वास राख्ने चीन नेपालमा बढ्दो अमेरिकी प्रभावप्रति पछिल्लो समय खुलेर आएको छ । यसअघि नेपालमा एमसीसीको संसदीय अनुमोदनलाई लिएर विवाद चर्किएका बेला चीनले प्रत्यक्ष चासो देखाएको थियो ।
टिप्पणीहरू