दिउँसो ४२ जना बसेर समझदारी, साँझ बालुवाटारमा अर्कै बफादारी

दिउँसो ४२ जना बसेर समझदारी, साँझ बालुवाटारमा अर्कै बफादारी

हिजो दिउँसो चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच शिष्टाचार भेट हुँदा दुई मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच सहयोग आदानप्रदान र द्विपक्षीय विविध विषयमा छलफल र समझदारी भएको थियो ।

नेपालको तर्फबाट २५ जना सरकारी उच्च अधिकारी तथा चिनियाँ पक्षका १७ जना प्रतिनिधिबीच भएको झण्डै ४५ मीनेटको वार्तामा नौ वटा विषयमा समझदारी भएको छ । जसमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने, नेपाल–चीन अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनमा प्राविधिक सहयोग गर्ने,नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययन गर्ने,नेपालबाट चीनमा घाँस निर्यात गर्ने र नेपालमा उत्पादित सामग्रीमा ड्युटी फ्रि सुविधा उपलब्ध गराउने बिषय परेका छन् । त्यसैगरी अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना सञ्चालन गर्ने,रेलवेसम्बन्धी सातौं बैठकको निर्णय अनुमोदन गर्ने,खोप प्रमाणपत्रसम्बन्धी र बीपी कोइराला क्यान्सर अस्पतालमा चिनियाँ चिकित्सक टोली पठाउने समझदारी पनि हिजै भएको हो ।

त्यसपछि बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीको उपस्थितिवीच नौ वटा विषयमा थप स्पष्ट पार्न आग्रह गरिएको थियो । जसमा बीआरआईबारे थप प्रष्ट नभइन्जेल अघि नबढाउने प्रधानमन्त्रीको जवाफ थियो । उहाँले बीआरआईको सहयोग ऋण हो कि अनुदान स्पष्ट हुनुपर्ने अडान राख्नुभएको बताइन्छ । त्यसैगरी परियोजना कार्यान्वयन मोडालिटीका विषयमा गहन छलफल आवश्यक र आर्थिक अवस्थासमेत राम्रो नभएका बेला मुलुकले ऋण धान्न नसक्ने नेपालको भनाइ रहेको बताइएको थियो ।

प्रधानमन्त्रीको उक्त अडान यसअघि नेपालका एमालेबाहेक विपक्षी दल विशेषगरी कम्युनिष्ट पार्टीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी परियोजनाको सम्बन्धमा जे माग राखेका थिए सोहीबमोजिम हिजो चिनियाँ विदेशमन्त्रीसामु प्रस्तुत भएको हो । यसअघि वामपन्थीहरुले एमसीसीबारे विभिन्न कोणबाट प्रष्ट हुनुपर्ने माग र अडान राखेका थिए । अहिले बीआरआइको सम्बन्धमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्रीले त्यस्तै अडान दोहोर्याउँदा सत्ता गठबन्धनवीच छलफल हुन पायो या पाएन केही खुलेको छैन ।

त्यसैगरी पश्चिमाले तिब्बती शरणार्थीलाई प्रयोग गरेको भन्दै चिनियाँ विदेशमन्त्री वाङद्वारा नेपाल सरकारको ध्यानाकर्षण गराइनुका अलावा,एमसीसीको नामै नलिई आफ्नो देशको सुरक्षासमबन्धी चासो राखिनु उल्लेखनीय बिषय थियो । अन्तमा नेपालबाट चीनविरोधी गतिविधि हुन नदिने प्रधानमन्त्री देउवाको प्रतिबध्दता र एमसीसी विकास परियोजना भएकाले उक्त परियोजना राजनीतिक हिसाबले कसैप्रति लक्षित नभएको परराष्ट्रमन्त्रीको जवाफ रह्यो ।

हिजै चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गर्नुभएको हो ।

हिजो दिउँसो सिंहदरबारमा भएको औपचारिक द्विपक्षीय वार्तामा नेपालको तर्फबाट परराष्ट्र,गृह,अर्थ, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन,ऊर्जा,जलस्रोत तथा सिँचाइ,कृषि तथा पशुपन्छी विकास, उद्योग,वाणिज्य तथा आपूर्ति,भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण,भौतिक पूर्वाधार तथा यातायात,स्वास्थ्य तथा जनसंख्यया मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलगायत २५ जनाको नेपाली प्रतिनिधि मण्डल थियो ।

चिनियाँ टोलीमा विदेशमन्त्री वाङ यीको नेतृत्वमा १७ जना थिए । जसमा राजदूत हौ यान्छी,चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ,वाणिज्य मन्त्रालयका सहसचिव सेङ कुपिङ,विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ,नायव शिष्टाचार महापाल सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइलगायत थिए ।

टिप्पणीहरू