काँग्रेस बैठकमा गठबन्धनसहित चुनावमा जानुपर्ने मत बलियो

काँग्रेस बैठकमा गठबन्धनसहित चुनावमा जानुपर्ने मत बलियो

नेपाली काँग्रेसभित्र आगामी स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्ने बहस जारी छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल,नेता कृष्णप्रसाद सिटौलालगायत अधिकांश नेताहरु गठबन्धनसहित चुनावमा जानुपर्ने मनस्थितिमा छन् भने संस्थापन इतर समूहका नेता शेखर कोइराला एक्लै चुनाव लड्नुपर्ने अडानमै देखिन्छन् ।

गठबन्धन पक्षधर नेताहरु प्रतिपक्ष एमालेसँग गठबन्धनका दलहरु चुनावी तालमेलमा जानसक्ने भएकाले त्यसलाई रोक्न गठबन्धन जोगाउनुपर्ने मत राखिरहेका छन् । तर,गठबन्धन गर्न नहुने मत राख्नेहरु भने गठबन्धन गर्दा काँग्रेस कमजोर हुने तर्क गर्दै छन् ।

सभापति देउवासहितका नेताहरुमा माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्दा काँग्रेसलाई देशैभर क्षति हुने त्रास छ । सोही चुनावी अंकगणितको लेखाजोखा गरेर देउवाले गठबन्धन आवश्यक ठानेको निकटहरु बताउँछन् ।

नेता कोइरालाको भने काँग्रेस आफैंमा शक्तिशाली पार्टी भएकाले अन्य दलको साथ आवश्यक नहुने तर्क छ । देउवाले त चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न दिने भए दिऊँ न त भनेर शेखरलाई हिजै थर्काइसकेको स्थिति छ ।

“सुजाता कोइराला पनि चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने पक्षमा खुल्नुभएको छ ।”

केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले केन्द्रदेखि स्थानीय तहसम्म चुनावी तालमेल आवश्यक रहेको बताउनुभएको छ । काँग्रेस पहिलो पार्टी बनेर देश हाँक्न पनि चुनावी गठबन्धन आवश्यक रहेको उहाँको भनाइ छ । यद्यपि पार्टीको चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिको रिपोर्टको आधारमा निर्णय लिनु राम्रो हुने रञ्जितले बताउनुभयो ।

‘पार्टीकै एउटा समूहले एक्लै चुनाव लड्ने भन्दै आएको छ । प्रजातान्त्रिक पार्टीमा विचारहरू राख्न पाइन्छ । तर,अहिलेको माहोल हेर्दा गठबन्धन गरेरै काँग्रेस चुनावमा जाने देखिन्छ । सभापति देउवा, वरिष्ठ नेता पौडेल गठबन्धनसहित लड्ने भन्दै हुनुहुन्छ । पार्टीले औपचारिक निर्णय लिन बाँकी छ । तर,मेरो व्यक्तिगत विचारमा गठबन्धनसहित चुनावमा लड्दा पार्टी र देशलाई फाइदा हुन्छ जस्तो लाग्छ,’काठमाण्डौका रैथाने नेता रञ्जितले भन्नुभयो ।

अर्का केन्द्रीय सदस्य ध्रुव वाग्लेले पनि काँग्रेस अन्य कुनै दलसँग मिलेर जाँदा राम्रो हुने धारणा राख्नुभयो । जारी पार्टीको केन्द्रीय समिति बैठकमा पनि यही विषयमा छलफल भएकाले यसै आधारमा औपचारिक निर्णय लिइने उहाँले बताउनुभयो । ‘गठबन्धनबारे पार्टीमा नेताहरूको व्यक्तिगत धारणा आएका छन्,तर औपचारिक निर्णय बैठकपछि आउँछ’, वाग्ले भन्नुहुन्छ ।

अर्की केन्द्रीय सदस्य सुजाता कोइराला पनि चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने पक्षमा खुल्नुभएको छ । कुन दलसँग कसरी गठबन्धन गर्दा फाइदा हुन्छ त्यो पार्टीमा छलफल गरेर मात्रै निर्णय लिनुपर्ने भनाइ उहाँको छ ।

टिप्पणीहरू