आज चिनियाँ विदेशमन्त्रीका काठमाडौंमा ५ घण्टा
नेपालको तीन दिने औपचारिक भ्रमणमा अस्ति अपरान्ह नयाँ दिल्लीबाट काठमाडौं आउनुभएका चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद्का सदस्य वाङ यी आज बिहान पौने १० बजेदेखि दिउँसो पौने ३ बजेसम्म निकै व्यस्त हुनुभयो ।
बिहान बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट ब्रेकफास्ट खाएर निस्कनुभएका उहाँ पौने ३ बजे विशेष विमानबाट नउडुञ्जेल निकै व्यस्त देखिनुभयो ।
बिहान १० बजेदेखि झण्डै ४५ मीनेट शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो । उहाँ डेढ दर्जन सदस्य रहेको प्रतिनिधिमण्डलसहित त्यहाँ पुग्नुभएको हो । शीतल निवासबाट नागपोखरीस्थित होटल मेरियटमा पुग्नुभयो ।
बिहान ११ बजेको हाराहारीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उक्त होटलमा भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,विदेश विभाग प्रमुख राजन भट्टराई,प्रदेश नम्बर १ का सांसद शशीकला राई र इजरायलका लागि पूर्व राजदूत अञ्जान शाक्य पनि उपस्थित हुनुहुन्थ्यो ।
उहाँहरुबीच झण्डै एक घण्टा वार्ता भएपछि त्यहि होटलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्नुभएको थियो ।
एमाले टोली निस्केपछि विदेशमन्त्री वाङले अध्यक्ष दाहालसँग झण्डै आधा घण्टा भेटवार्ता गर्नुभएको हो । अध्यक्ष दाहालको टोलीमा नेताहरु नारायणकाजी श्रेष्ठ,शक्ति बस्नेतलगायतको उपस्थिति थियो ।
त्यसपछि उहाँ आफू बसेको होटल द्वारिकाज पुग्नुभयो र साढे २ बजे त्रिभुवन विमानस्थलमा पुग्नुभएको हो । उहाँ आउनुभएको विशेष विमान डियर जेट बी ८४१५ विशेष विमान चिनियाँ पाहुनालाई बोकेर पौने ३ बजे काठमाडौंबाट बेइजिङतर्फ प्रस्थान गरेको थियो ।
टिप्पणीहरू