माओवादी जनप्रतिनिधि भ्रष्टाचारमा चुर्लुम्म भएको एमाले, काँग्रेसको आरोप

माओवादी जनप्रतिनिधि भ्रष्टाचारमा चुर्लुम्म भएको एमाले, काँग्रेसको आरोप

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै उम्मेदवारका आकांक्षीहरू गाउँ छिर्न थालेका छन् । खासगरी नेकपा (एमाले),नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताहरू पार्टी प्रवेश तथा संगठन विस्तारको अभियान भन्दै मतदाता भेट्न टोल–टोलमा पुगिरहेका छन् ।

यो वा त्यो भाषा मिलाएर उनीहरूले मतदाताको मन जित्न खोजिरहेका छन् । मुख्य तीन पार्टीले हालसम्म उम्मेदवार तय गरेका छैनन् । तर उनीहरू आफ्नै पार्टीलाई भोट दिनुपर्ने बताउँदै गाउँ–ठाउँमा हिँडिरहेका छन् ।

गंगादेव गाउँपालिका लुम्बिनी प्रदेशकै ‘पंगु र भ्रष्ट’ स्थानीय तह बनेको एमाले–काँग्रेसका स्थानीय नेता–कार्यकर्ताहरूले आरोप लगाइरहेका छन् ।

उता माओवादी केन्द्रका नेताहरू भने गाउँपालिकामा धेरै राम्रा काम भएको बताउँछन् । ताम्राखोला–रमाइँ खानेपानी मर्मत आयोजनामा व्यापक भ्रष्टाचार भएको स्थानीयको गुनासो छ ।

स्थानीय तहको चुनावअघि नै खानेपानीको समस्या समाधान गर्न उनीहरूको माग छ । नाउली, बडामेला,रमाइँलगायतका ठाउँमा खानेपानीको चरम अभाव छ ।

प्रदेश सरकारबाट खानेपानी मर्मतका लागि ५१ लाख रुपैयाँ विनियोजित गरिएको थियो । तर लाखौं रकम हिनामिना गरेर नयाँ उपभोक्ता समितिले उल्टै सात लाख रुपैयाँको ऋण देखाएको आरोप छ ।

‘नेताहरू मुख देखाएर गाउँ छिरिरहेका छन् । खानेपानीको समस्या समाधान गर्नुपर्दैन ? अबको चुनावमा भ्रष्टहरूलाई भोट हालिँदैन ।’

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसबारे दुईवटा उजुरीसमेत परेको छ । खाइपाइ आएको खानेपानी आयोजना मर्मतको कार्य झन् बिगारेको स्थानीय छत्रबहादुर डाँगी बताउँछन् ।

‘खानेपानी निर्माण कार्य सम्पन्न भएको यत्रो समय भइसक्यो । तर अहिलेसम्म धारामा पानी नै झर्दैन,’ उनले भने । डेढ वर्षदेखि गाउँभर खानेपानीको चरम समस्या छ ।

खानेपानीको चरम अभाव हुँदा गाउँलेहरू आजित भएको अर्का स्थानीय हरिप्रसाद डाँगीले बताएका छन् । ‘नेताहरू मुख देखाएर गाउँ छिरिरहेका छन् । खानेपानीको समस्या समाधान गर्नुपर्दैन ? अबको चुनावमा भ्रष्टहरूलाई भोट हालिँदैन ।’

जनप्रतिनिधिले नै उपभोक्तालाई गुमराहमा राखेर चुनेको उपभोक्ता समितिले खानेपानीको गतिलो मर्मत नगरेको डाँगीको गुनासो छ । मर्मत समितिले दुईवटा ‘आरभीटी ट्याङ्की’ र टुटी बिनाका धारा बनाएको छ ।

फलामे पाइप (जीआई) लाग्ने ठाउँमा पनि प्लाष्टिकको पाइप प्रयोग गरेको उपभोक्ताहरूको गुनासो छ । ‘ब्रेक प्रेसर ट्याङ्क’ राख्नुपर्ने ठाउँमा सिधै कालो प्लाष्टिकको पाइप राखिएको छ । गंगादेवका जनप्रतिनिधिलाई अब भोट माग्ने नैतिकता नभएको स्थानीय युवा प्रकाश डाँगी बताउँछन् ।

‘नाउलीमा खानेपानीको अभाव छ । भोट माग्न आउनुअघि घर–घरमा पानी चाहिन्छ,’ उनी भन्छन्, ‘भ्रष्टलाई भोट हालिँदैन । चुनावमा भोट चाहिए खानेपानी ल्याइदिनु ।’

टिप्पणीहरू