माथिल्लो तामाकोशी आयोजनाको मुन्तिरका वासिन्दा खतरामा
दोलखामा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले तामाकोशी नदीमा पानीको बहावमा घटबढ हुने भएकाले सतर्कता अपनाउन आयोजनास्थलभन्दा तल्लो तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरेको छ ।
आयोजनाले सुख्खायाममा आयोजनाभन्दा मुनिको भागमा बग्ने तामाकोशी नदीको पानीको बहावमा उतारचढाव आएकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई सचेत भएर नदी वरपर जान आग्रह गरेको हो ।
सुख्खायाममा मंसिरदेखि जेठ महिनासम्ममा पिक आवर अर्थात् बिहान ५ देखि ११ बजेसम्म र साँझ ५ बजेदेखि राति १० बजेसम्म राष्ट्रिय विद्युत् प्रणालीको आवश्यकतानुसार पूरा क्षमतामा विद्युत उत्पादन हुने गरेको बताइन्छ ।
सो क्रममा जलविद्युत् केन्द्रको आउटलेटबाट अधिकतम ६६ घनमिटर प्रतिसेकेण्ड पानी प्रवाह भई तामाकोशी नदीको बहावमा अचानक वृद्धि हुने भएकाले उक्त समयमा सजगता अपनाउन आग्रह गरिएको हो ।
यसबाट नदीको तल्लो तटीय क्षेत्रमा रहेका जगत, टुनीटार, जामुने, भोर्ले, सिँगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म नदीको पानीको सतह घटबढ भइरहने भएकाले सो समयमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजाने, धार्मिक कार्य, दाहसंस्कार, बालुवा उत्खनन् जस्ता कार्यहरू सकेसम्म नगर्न/नगराउन आयोजनाले आग्रह गरेको हो ।
टिप्पणीहरू