युक्रेनी राष्ट्रपति गलेको संकेत, मस्को झन् आक्रामक
रुसले आफ्नो देशमाथि सैन्य आक्रमण गरेको एक महिना नाघेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन ‘तटस्थ राष्ट्र’ बस्ने बताएका छन् । अमेरिकी सैन्य सुरक्षा छाता नेटोको सदस्य बन्न आतुरता देखाएपछि मस्काले किभमाथि आक्रमण गरेको हो ।
तर अहिले जेलेन्स्कीले तटस्थ राष्ट्रको नयाँ पासा फालेर रुससँग शान्तिवार्ताको आग्रह गरेका हुन् । मस्कोले औपचारिक रुपमा युक्रेनी राष्ट्रपतिको भनाइको प्रतिक्रिया नजनाए पनि विश्लेषकहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उक्त मागप्रति सहमत नहुने बताइन्छ ।
युक्रेनी राष्ट्रपतिले आफूले अगाडि सारेको उक्त धारणालाई तेस्रो पक्षले पनि मान्नुपर्ने र जनमत संग्रहमार्फत अनुमोदनको आवश्यतामा जोड दिएका छन् ।
उनको उक्त प्रस्ताव तत्काल रुसलाई युद्धविराम गराउने र पछि जनमत संग्रहको नाममा तटस्थ बस्न नमानेको भन्दै पुनः पश्चिमा राष्ट्रहरुसँग साँठगाँठ गराउने प्रपञ्च भएको मस्को निकट सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले दिएको भिडियो अन्तर्वार्तालाई मस्कोले चासो दिएको देखिँदैन । जेलेन्स्कीको तटस्थ राष्ट्रको प्रस्ताव रुससँग पनि टाढा बस्ने भन्ने भएको रुसी अधिकारीहरुको विश्लेषण छ ।
टिप्पणीहरू