आज २१ जना संक्रमित, मृत्यु शून्य
पछिल्लो २४ घण्टामा मुलुकभर २१ जना कोरोना संक्रमित भेटिएका छन् । ६ हजार तीन सय नौ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा तीन सय १९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । अझै एक हजार दुई सय ५४ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा काठमाडौंमा एक जना संक्रमित थपिएका छन् । भक्तपुरमा एक र ललितपुरमा एक जना संक्रमित भेटिएका छन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक सय ७७ रहेको छ । भक्तपुरमा ११ र ललितपुरमा एक सय ४० जना छन् ।
आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ । २४ घण्टामा थपिएका संक्रमितमध्ये पाँच जना युवायुवती छन् भने एक जना वृद्धावृद्धि रहेका छन् ।
टिप्पणीहरू