सेनापतिका प्रिय विदेशतिर सुटुक्क

एक जना मेजर पटक–पटक नेपाल–दुबई ओहोर–दोहोर गरिरहन्छन् ! प्रधानसेनापतिको विश्वासपात्रका रुपमा रक्षा मन्त्रालयसँग समन्वयको जिम्मेवारी सम्हाल्ने सेनानीको दुबईमा त्यस्तो के काम पर्छ ?

सैनिक मुख्यालयका हाकिमहरूबीच यसरी प्रश्न सोधासोध चल्ने गरेको छ । तर, जवाफ कोहीसँग छैन । कोही–कोही भन्छन्, यता विभिन्न संदिग्ध गतिविधिबाट आर्जित रकम व्यवस्थापन गर्न अनेक नाममा फास्टट्र्यकका हाकिम विकास पोखरेल बैंकक र उनीचाहिँ ठेकेदार दीपक रेग्मीको पछि लागेर त्यता गएका हुन् ।

अर्काथरिको अनुमान छ, ठेकेदारहरूको ‘सेटिङ’ मा गुपचुप सेनाले खरिद गर्न लागेको रुसी हेलिकोप्टरको मामिला यसैमा जोडिएको छ । किनभने, युक्रेनसँग युद्ध चलिरहँदा रुससँग सम्बन्धित आर्थिक गतिविधिमा युरोपेली र अमेरिकी मुलुकले प्रतिबन्ध लगाएका छन् । यसर्थ, सीधै रुससँग आर्थिक कारोबार हुन नसक्ने अवस्थामा घुमाउरो पाराले हिसाव मिलाउने र कमिशन सुरक्षित गर्नेजस्ता काम यसबीच भित्रभित्रै चलिरहेको छ । ती मेजर हुन्, सुदिप अर्याल ।

उनी फागुन र चैत्र महिनामा मात्रै दुईचोटि दुबई पुगेको बताइन्छ । उनलाई प्रधानसेनापतिको दाहिने हात भएका कारण पूर्णचन्द्र थापाकै पालादेखि रक्षा मन्त्रालयमा समन्वय गर्न राखिएको हो । सुदिपले मुख्यतः सचिव, उपसचिवहरूसँग लिनुपर्ने कामहरू मिलाउने गर्दछन् ।

छत्रमानसिंह गुरुङ, गौरवसमशेर राणाहरूकै पालादेखि रक्षा समन्वयमा खटिएका उनी शान्ति सेनाअन्तर्गत कंगो गएर फर्किएपछि पोखराको सैनिक विद्यालयमा खटिए । स्याङ्जाली हुन् । पूर्वमन्त्रीहरू दिनबन्धु, चक्रबन्धु अर्यालहरूका नातेदार ।

मातृ गण बर्दबहादुरका अधिकृत उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग राम्रो सम्बन्ध बनाएका छन् । रक्षामात्रै हैन, आर्थिक मामिलामा कहलिएका अरु मन्त्रीसँग पनि निकटता हुने गरेको छ । पर्यटन मन्त्री भएका भीम आचार्यका सबै नालिबेली उनलाई थाहा छ ।

राप्रपाबाट कांग्रेस भई केही समयअघि देहान्त भएका नेता स्व.सूर्यबहादुर केसीका ठेकेदार छोरा रोशनहरूसँग व्यापारिक साझेदारी छ । जबकि, राष्ट्रसेवक कर्मचारीले पदमा रहेको बेला व्यापार–व्यवसाय गर्न पाउँदैनन् । सेनाबाट रक्षा मन्त्रालय पुग्ने फाइलहरू रोक्ने वा अगाडि बढाउने कुरा उनैमा निर्भर हुन्छ भनिन्छ । भैंसेपाटीको कार्यविनायकमा बस्ने उनले मन्त्रालयका सुब्बादेखि सचिवसम्मै सघन सम्बन्ध बनाएका छन् ।

सेनाको तर्फबाट समन्वयका लागि रक्षामा खटिने अर्का पनि मेजर थिए, दिपेन्द्र न्यौपाने । क्याप्टेन हुँदा शान्ति सेनामा मेजरमाथि हातपात गरेबापत सैनिक प्रहरीबाट कारवाहीमा परेका । पछि कोर्टमार्शल हुँदा राजेन्द्र क्षेत्री प्रधानसेनापति भएपछि जागिरमा टिकेका । हिमाल सफा गर्ने नाममा नाम्चे ब्यारेकको गुल्मपति भएर दुई करोड खर्च गरेपछि तक्मा पाएका ।

यसैबीच अर्का चल्ताफिर्ता कर्णेल राजीव थापा चाहिँ तीन वर्ष बढुवा रोक्काको कारवाहीमा पर्नाले बटुल्न सक्नेजति चिजहरू सुरक्षित पार्दै राजीनामा जाने तयारीमा छन् । लमजुङबाट झरेर चितवनमा बसोबास भएका उनी पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापादेखि राजेन्द्र क्षेत्रीसम्मका नातेदार हुन् ।

पाँचखालमा हुँदा आउट जाने क्याडेटको राशन खाइदिने आरोप लागेको थियो । सिन्धुलीमा हुँदा महिला सैनिकलाई राति–राति आफ्नो बंगलामा राखेको काण्डमा पनि तानिएकै हुन् । स्थानीय रेष्टुरेण्टमा ३ जना सिपाहीलाई काम गर्न पठाउने ।

तर, कसैले सोध्यो भने विप्लव समूहको सुराकीका लागि पठाएको भन्ने । उनीमाथि पहिला जर्नेल सुशील भण्डारीबाट कोर्ट अफ इन्क्वायरी भयो, पछि दीपक बानियाँको कोर्टमार्शलले रिपोर्ट दिएपछि तीन वर्ष बढुवा रोक्कामै थामिए । जबकि, उनको कसुर जेल हाल्नुपर्ने स्तरको भएको सेनाका हाकिमहरू बताउँछन् ।

उनी कति शक्तिशाली भने, युएन मिशन जाँदा अरुलाई ५०–६० लाख रुपैयाँ पनि लैजान दिइँदैन, उनलेचाहिँ भैपरि भनेर १८–२० करोड लगेका । लेबनानबाट फर्किएपछि लाइन अरेस्ट नगरी बाहिरै राखेर छानवीन गरियो । महिलासँग जोडिएको काण्डमा पर्ने सेनाको हकमा यस्तो सुविधा हत्तपत्त कसैले पाउँदैनन् । बढुवा रोक्का कारवाहीका कारण उनी फुल कर्णेल नहुने भए । लेफ्टिनेन्ट कर्णेलको ५ वर्ष लागेर घर जाने अवस्थामा छन् ।

पत्नी र छोरा विदेशमा । दाइ रञ्जित महासेनानी, भाउजू मुनु सेनाकी डाक्टर । पूर्णचन्द्रको पालामा सिन्धुली गढीको पुनर्निर्माणका नाममा राम्रै रकम सुरक्षित पारेको चर्चा छ ।

उनले सिन्धुलीमा गरेका हर्कतबारे पल्टनका १४–१५ जनासँग बयान लिइएको थियो । त्यसमध्ये राजिवमाथि मात्रै कारवाही हुँदा अरुले सफाइ पाएका छन् । कतिसम्म गरे भने, सेनाको सिपाहीबाट भगौडा भएर माओवादीमा छिरेका सन्तोष भन्ने चित्रबहादुर बुढाथोकी (सिबी) सँग मिलेर रक्सी र महिलाका मामिलामा सिन्धुलीभरि बदनामी कमाए । बेलाबखत भिडियोमा मोडलिङ गर्ने सिबीले चियाबारीमा होटल चलाएका छन् ।

०७४ को स्थानीय निर्वाचनमा कमलामाई नगरपालिका– २ को वडा सदस्य उठेका थिए, अहिले एमाले प्रवेश गरेका छन् । सेनाका लागि भगौडा सिपाही हुन् । तर, तिनलाई व्यारेकमा लैजाने, भोज चलाउने, नाचगानका लागि युवतीहरू पनि भिœयाउनेजस्ता काम गरे ।

टिप्पणीहरू