३ भिआइपी हेलिकप्टरमा,अरु धेरै जहाजमा

३ भिआइपी हेलिकप्टरमा,अरु धेरै जहाजमा

हिजो पनि काठमाडौंबाट तीन जना भिआइपी हेलिकप्टरमा काठमाडौं बाहिर जानुभएको र साँझ राजधानी फर्कनुभएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी सेनाको हेलिकप्टरमा पोखरामा आयोजित एक कार्यक्रममा सहभागी हुन बिहान त्यता गएर साँझ शीतल निवास फर्कनुभएको हो । उहाँ काठमाडौंमा शीतल निवासको सामुन्ने रहेको भैरवनाथ गणको हेलिप्याडबाट आउजाउ गर्नुभएको थियो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पौने ११ बजे रोल्पा गएर साँझ काठमाडौं फर्कनुभयो । उहाँ कैलाश हेलिकप्टरमा पाँच जनाको टोलीसहित रोल्पा गएर फर्कनुभएको हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि हिजो हेलिकप्टर चढेर काठमाडौं बाहिर जानुभयो । उहाँ मनाङ एअरको हेलिकप्टरमा दिउँसो सवा ३ बजे वीरगञ्ज जानुभएको मनाङ एअरले पुष्टि गरेको छ ।

हिजै भारतका लागि नवनियुक्त राजदूत डा. शंकर शर्मा आफ्नो कार्यभार सम्हाल्न दिउँसो त्यता जानुभएको छ । उहाँ नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडानबाट पौने ३ बजे त्यता जानुभएको हो । आगामी शुक्रबारदेखि हुने प्रधानमन्त्रीको भारत भ्रमणअघि उहाँ दूतावासमा जिम्मेवारी सम्हाल्न नयाँ दिल्ली जानुभएको हो । तर, भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश नगरुञ्जेल दूतावासभित्रको काममा मात्र सीमित हुने बताइएको छ । शुक्रबारअघि ओहोदाको प्रमाणपत्र पेश गर्ने सम्भावना निकै कम भएको दूतावास स्रोतले पुष्टि गरेको छ ।

नेपालका लागि स्वीटजरल्याण्डका राजदूत श्रीमती एलिजाबेथ भोन क्याप्लर हिजो बिहान सवा ८ बजे श्री एअरलाइन्सको उडानबाट धनगढी जानुभएको छ ।

पूर्व माओवादी तथा हाल एमाले नेता लेखराज भट्ट हिजो नेपाल एअरलाइन्सको उडानबाट बिहान नयाँ दिल्ली जानुभएको छ । हिजै नेपाली सेनाका सहाक रथी सागरबहादुर थापा कतार एअरवेजको उडानबाट बिहान साढे ८ बजे काठमाडौं आउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री तारा लामा तामाङ्ग हिजो बिहान ७ बजे बुध्द एअरको उडानबाट धनगढी पुग्नुभएको विमानस्थल कार्यालयले जनाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल पनि हिजो बिहान ९ बजे बुध्द एअरको उडानबाट पोखरा जानुभएको हो ।

नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद अल्मारवानी हिजो बिहान सवा ९ बजे हिमालयन एअरलाइन्सको उडानबाट रियाद जानुभएको छ ।

उता सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ हिजो बिहान सवा ९ बजे बुद्द एअरबाट बिराटनगर जानुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन हिजो बिहान साढे ११ बजे यति एअरलाइन्सको काठमाडौं–भैरहवा उडानबाट त्यसतर्फ जानुभएको छ ।

पूर्व उपराष्ट्रपति परमानन्द झा भने दिउँसो पौने १ बजे नेपाल एअरलाइन्सको नयाँ दिल्ली–काठमाडौं उडानबाट आउनुभएको छ ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली १५ सदस्यीय टोली बोकेर हिजो भैरहवा जानुभयो । उहाँको टोली सौर्य एअरलाइन्सको उडानबाट दिउँसो सवा १ बजे त्यसतर्फ उडेको हो । टोलीमा टोपबहादुर रायमाझी,विष्णु पौडेललगायतका एमाले नेता थिए ।

हिजै नेपाल एअरलाइन्सको चार्टर फ्लाइटमा चीनको राजधानी बेइजिङबाट १९ लाख २० हजार थान सिरिञ्ज ल्याइएको छ । चीन सरकारको सहयोगमा प्राप्त उक्त सिरिञ्ज कोभिड १९ विरुद्ध खोप लगाउने कार्यमा प्रयोग गरिनेछ ।

हिजो दिउँसो पौने ५ बजे पूर्वमन्त्री तेजुलाल चौधरी र पूर्वमन्त्री मृगेन्द्रसिंह यादव बुद्ध एअरको उडानबाट काठमाडौं आउनुभएको छ ।

हिजै ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङ,पूर्वमन्त्री तथा एमाले नेता खगराज अधिकारी बुद्ध एअरको दिउँसो साढे १ बजेको उडानमा पोखराबाट काठमाडौं आउनुभएको छ ।

टिप्पणीहरू