डोटीका बाढीपीडितको खातामा १ लाख रुपैयाँ
डोटीका बाढीपीडितले सुदूरपश्चिम प्रदेश सरकारबाट नगद सहयोग पाएका छन् । बाढीपहिरामा परी ज्यान गुमाएका १६ जनाको परिवारकालाई सुदूरपश्चिम सरकारले जनही एक लाख रुपैयाँ प्रदान गरेको हो ।
बाढीपहिरोबाट ज्यान गुमाएका १६ जनाका ११ परिवारलाई नगद एक–एक लाख राहत दिइएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो । उनीहरुको बैंक खातामा गत आइतबार नै नगद पठाइसकेको उहाँले उल्लेख गर्नुभयो ।
करिब चार महिनापछि प्रदेश सरकारबाट राहत पाएसँगै स्थानीयवासी खुसी भएको विष्टले बताउनुभयो । तर उनीहरुले प्रत्येक परिवारलाई ३० हजार र ज्यान गुमाएका व्यक्तिको प्रति परिवारलाई एक लाख रुपैयाँ दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरुको मागअनुसार राहत दिन नसकेको भने प्रजिअले स्वीकार गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘उहाँहरुले प्रत्येक परिवारलाई ३० हजार र ज्यान गुमाएका प्रतिव्यक्तिको परिवारलाई एक लाख दिनुपर्ने माग गर्दै आउनु भएको छ, यो राहत हामीले उहाँहरुको मागअनुसार पूरा गर्न सकेका छैनौं ।’
सिडिओ विष्टका अनुसार बाढीपहिरोबाट भत्किएका संरचनाहरु पुनर्निर्माण भइरहेका छन् । बाढीले स्थानीयवासीको खेतसमेत कटान गरेकाले खेतिपाती लगाउन समस्या भइरहेको छ । अहिले पनि जोखिम कायमै रहेको भन्दै प्रभावितहरुले बस्ती स्तान्तरणको माग गरेका छन् ।
जिल्लामा सरकारबाट आउने थप अनुदानका लागि पीडितहरुको तथ्याङ्क संकलन भइरहेको विष्टले जानकारी दिनुभयो । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परी १६ जनाले ज्यान गुमाएका थिए । यस्तै, धेरै घर परिवार विस्थापित भएका थिए ।
टिप्पणीहरू