पहिले आफै विवरण माग्ने,अहिले थाहा छैन भन्ने
कोरोना महामारीले मुलुक नै तहसनहस पारेको बेला धनाढ्य व्यवसायी शेखर गोल्छाले दुबई पुगेर आफ्नो छोरा अभिमन्यू गोल्छाको विवाह बडो धुमधामका साथ गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका गोल्छाले उक्त विवाहको लागि करौडौं रकम खर्च गरेको बताइएको छ । नेपालको फाइभस्टार होटल छोडेर व्यवसायी गोल्छाले विवाह समारोहका लागि दुबई रोज्दा घटीमा पनि १५ करोड खर्च भएको अनुमान लगाइएको हो ।
गत फागुन १० अर्थात माघ २७ गते आयोजित विवाहमा झण्डै अढाई सय जना नेपालबाट जन्ती गएका थिए । उद्योग वाणिज्य महासंघका पदाधिकारी, कर्मचारी र नेपाली व्यापारिक घरानाका विभिन्न व्यक्तित्वलाई निमन्त्रणा गरिएको थियो । विश्वकै मँहगो शहरमा विवाह समारोह भव्यताका साथ सम्पन्न भयो । जन्तीहरुको बस्ने खाने,आउने जाने टिकट र विवाह समारोहमा मात्रै भयंकर खर्च भएको थियो । यता, बेहुलीपट्टीले गरेको खर्च जोड्दा झण्डै २० करोड पुगेको अड्कलबाजी लगाइएको छ ।
तर,व्यापारी गोल्छाले दुबईमा गएर खर्च गरेको यत्रो विदेशी मुद्रा कसरी व्यवस्थापन गरे भन्ने कुरा अहिले पनि चर्चामा छ । अढाई सय मानिस नेपालबाट लगेर दुबईजस्तो विश्वकै महँगो शहरमा गरिने खर्च र विदेशी मुद्रा व्यवस्थापनलाई लिएर उठेको प्रश्नको जवाफ अहिलेसम्म पनि पाउन सकिएको छैन ।
“डलरको अभाव भएको देशबाट बिहेका बहानामा नियमविपरित लाखौं डलर अवैध हिसाबले बाहिरिदा हाम्रो राजश्व अनुसन्धानले अनुसन्धान गर्छ चाहिँ के को ?”
राजस्व अनुसन्धान विभागले व्यापारी गोल्छा दुबईका लागि यहाँबाट प्रस्थान गर्नु अगावै नै खर्च विवरण बुझाउन निर्देशन दिएको बताइएको थियो । विभागले दुबई उड्नुअघि धनाढ्य व्यवसायी गोल्छालाई फर्केपछि खर्च विवरण बुझाउन कडा निर्देशन दिएको थियो । तर,विवाह सम्पन्न भएको दुई महिना हुनलाग्दा पनि उनले खर्च विवरण बुझाएका छैनन् ।
यता,विभागका महानिर्देशक प्रकाश पौडेलले आफूलाई यसबारे केही जानकारी नभएको बताए । उनले व्यापारी गोल्छासंग विवाह खर्चको विवरण मागिएको कुरा झूठो भएको दाबी गरे । जनआस्थासंगको कुराकानीमा महानिर्देशक पौडेलले भने-व्यापारी गोल्छासंग खर्च विवरण मागिएको कुरा आधिकारिक होइन । हामीले त्यस्तो केही विवरण मागेका छैनौँ र उहाँले हामीलाई त्यस्तो कुनै विवरण बुझाउनुभएको पनि छैन ।
राजस्व अनुसन्धान विभाग पनि धनाढ्य व्यापारी शेखर गोल्छाको बचाउमा उत्रिएकोजस्तो देखिन्छ । पहिले आफै विवरणको खोजी गर्ने विभाग अहिले पन्छिएको छ । मुलुकलाई अप्ठेरो पर्दा उदाहरणीय बनेर देखाउनुपर्ने व्यापारी र व्यवसायीहरुले विदेशमा गएर विवाह गर्दा उनीहरु अरुले के सिक्छन् ? पछिल्लो समय नेपाली विवाह भड्किलो र महङ्गो हुँदै गएको छ । तडकभडक र अरुको देखासिकी गर्ने प्रवृत्तिले नेपाली समाजमा विकृति फैलिरहेको पाइन्छ । नेपाली भूमि छोडेर विदेशमा विवाह गर्ने प्रचलन पनि यसकै नतिजा भएको जानकारहरु बताउँछन् । प्रश्न त के हो भने डलरको अभाव भएको देशबाट बिहेका बहानामा नियमविपरित लाखौं डलर अवैध हिसाबले बाहिरिदा हाम्रो राजश्व अनुसन्धानले अनुसन्धान गर्छ चाहिँ के को ?
टिप्पणीहरू