अमेरिकी सेना पैसा लिएर फर्किएपछि अफगानिस्तानमा खाद्य संकट चुलियो
एक समय पर्यटकहरूको लागि अतिलोकप्रिय गन्तव्यको रुपमा रहेको अफगानिस्तानको मध्यक्षेत्रको रमणीय बामियान प्रान्त अहिले सुनसान छ । गरिबीले अतिनै ग्रस्त यो क्षेत्रका किशोर किशोरीदेखि बृद्धबृद्धा सबैले जीवनयापनको लागि काममा लाग्नु पर्ने अवस्था छ । बामियान प्रान्त एउटा यस्तो प्रान्त हो जहाँ अहिलेपनि धेरै जनता ओडार तथा गुफामा बस्ने गरेका छन् ।
६० बर्षका बृद्ध हबिबुल्लाह भन्छन् “म दैनिक ज्यालादारीमा काम गर्ने साधारण मजदूर हुँ तरपनि हरेक दिन मैले काम पाउदिन र यो सब यहाँको खराब र कमजोर अर्थतन्त्रको कारणले भै रहेको छ । जसका कारण बेरोजगारी एकदम बढेको छ ।’
उनी थप्छन्, ‘म मुश्किलले प्रतिदिन १५० देखि २०० अफगानी (लगभग २ अमेरिकी डलर) कमाउन सक्छु तर महंगीले गर्दा हामीजस्तो जनतालाई मँझधारमा पारेको छ ।’ बामियान पनि अघिल्लो वर्ष अफगानिस्तानका अन्य प्रान्तहरू जस्तै अमेरिकी नेतृत्वको सेना फिर्ता भएदेखिनै गरिबीको चपेटामा परेको हो ।
अफगानिस्तानको यो आर्थिक मन्दी अनि गरिबीको प्रमुख कारण अमेरिकी सेना फिर्ता भएपछि त्यहाँको केन्द्रीय बैंकको लगभग १० बिलियन डलरको सम्पत्ति अमेरिकाद्वारा फ्रिज गरिलाई मानिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो सम्पत्तिमध्येबाट ७ बिलियन डलर समानरूपमा ९/११ को पीडित परिवार र अफगानिस्तानका लागि मानवीय सहायताको रूपमा विभाजन गर्नुले पनि आर्थिक मन्दी र गरिवी बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो निर्णयको त्यतिबेलै व्यापक निन्दा गरिएको थियो ।
विभिन्न मानविय तथा सहायता एजेन्सीहरुको रिपोर्ट अनुसार युद्धग्रस्त अफगानिस्तानको लगभग ३ करोड ५० लाख जनसंख्यामध्ये २ करोड २० लाखभन्दा बढी जनसंख्याले अहिले तीव्र खाद्य अभावको सामना गरिरहेको र यसले देशमा भयङ्कर मानवीय विपत्ति निम्तिनसक्ने समाचारमा उल्लेख गरिएको छ ।
‘अफगानिस्तानमा अमेरिकी नेतृत्वको सेनाको उपस्थिति रहेको बेला बामियान आएका विदेशीहरूले पैसा आफ्नो देशमा फिर्ता लिएर गएको कारणले पनि बजारमा खाद्यान्नको मूल्य बढेको छ र गरिबहरूसँग खाना किन्न पैसा नभएको हो’, हबिबुल्लाह पनि त्यहि भन्छन् ।
श्रोत: सिन्ह्वा
टिप्पणीहरू