परीक्षामा प्राप्ताङ्क उल्टाउने कर्मचारीहरु अख्तियारको फन्दामा

परीक्षामा प्राप्ताङ्क उल्टाउने कर्मचारीहरु अख्तियारको फन्दामा

उत्कृष्ट उम्मेदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइरालासहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०७४ सालमा भएको उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल भएको उजुरीको आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा आयोगले लेखा सहायक र पुस्तकालय सहायक पदको लिखित परीक्षामा परीक्षकहरुले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरी थप केरमेट गर्ने कार्य गरेको आयोगले बताएको छ ।

लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने प्रा. डा. टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध विशेष अदालत, काठ्माडौंमा भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय र पाँचदेखि १० हजार रुपैयाँ जरिवानाको मागदाबी लिई मुद्दा दायर गरिएको छ ।

टिप्पणीहरू