हेलम्बुका युवा कोटेश्वरबाट माओवादीमा लागे

हेलम्बुका युवा कोटेश्वरबाट माओवादीमा लागे

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका स्वतन्त्र युवाहरुको एक समूह सत्तारुढ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । हेलम्बुमा प्रभावशाली मानिने एक दर्जन युवाहरुले आज माओवादी मुख्यालय पेरिसडाँडा पुगेर माओवादीको सदस्यता लिएका हुन् ।

माओवादी प्रवेश गर्नेमा हेलम्बुका दिनेश थापा, सञ्जय तामाङ, समीर केसी, निमा लामा, मुस्कान भण्डारी, विकास लामालगायत रहेको माओवादी केन्द्रले जनाएको छ ।

युवाहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनको परिणाम माओवादी केन्द्रको पक्षमा आउने दाबी गर्नुभयो । अघिल्लो चुनावमा अनेक जालझेल गरेर अन्य पार्टीले परिणाम हात पारेको भन्दै उहाँले यसपटक नतिजा सुल्ट्याइने पनि बताउनुभयो ।

देशभर युवाहरूको पार्टीमा आकर्षण बढेकाले निर्वाचन परिणाम माओवादीको पक्षमा पार्न असहज नभएको उहाँको भनाइ छ । सो क्रममा उहाँले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

‘तपाईं युवाहरूले सही निर्णय गर्नुभयो । तपाईंहरूलाई बधाई र स्वागत गर्न चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्रको जन्मदाता माओवादी केन्द्र हो । संविधानको रक्षा गर्न, सामाजिक न्यायसहितको समाज बनाउन र देशको समृद्धिसँगै विकास गर्ने पार्टी माओवादी हो । अब यसपटक निर्वाचनको नतिजा हामीले सुल्ट्याउनुपर्छ’, प्रचण्डले भन्नुभयो ।

टिप्पणीहरू